मेडिकल शिक्षामा अर्बौं लगानी बालुवामा पानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मेडिकल शिक्षामा अर्बौं लगानी बालुवामा पानी

काठमाडौं, ५ फागुन । एमबीबीएस पास गरेको विद्यार्थीले कति पटकसम्म दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्सिङ एक्जामिनेसन) का लागि परीक्षा देलान् ? नेपाल मेडिकल काउन्सिलका पदाधिकारीलाई पनि कौतुहल लाग्ने प्रश्न हो यो । खोजी गर्दा चीनबाट एमबीबीएस परीक्षा उत्तीर्ण गरेका विद्यार्थी ३६ पटकसम्म अनुत्तीर्ण भएको पाइएपछि काउन्सिल पदाधिकारी नै चकित परेका छन् ।

३६ पटक असफलताको स्वाद चाखेका ती विद्यार्थी दुई महिनाअघि भएको लाइसेन्स परीक्षामा भने सहभागी थिएनन् । उनले वर्षमा तीन पटकसम्म परीक्षा दिएका थिए । ३६ पटकसम्म असफल हुने ती विद्यार्थीको मोटिभेसनको तारिफ गर्ने काउन्सिलका पदाधिकारी यदि त्यस्तो विद्यार्थी उत्तीर्ण भए कस्तो उपचार गर्थे होलान् ? भन्ने जिज्ञासामा भने मौन छन् ।

डाक्टरी पढाइका लागि बर्सेनी नेपालबाट अर्बौं धनराशि विदेश पलायन भएको छ । पढेर फर्किएका सैयौ विद्यार्थी लाइसेन्स परीक्षामा फेल भइरहेका छन् । अवस्था कहालीलाग्दो छ । डेढ महिनाअघि काउन्सिलले लिएको एमबीबीएसको लाइसेन्स परीक्षामा विदेशबाट पढेर आएका विद्यार्थीमध्ये झन्डै ९० प्रतिशत मात्र उत्तीर्ण भए ।

नेपाल मेडिकल काउन्सिलका पदाधिकारी विदेश पढ्न जाने अधिकांश विद्यार्थी मेधावी नभएको तर्क गर्छन् ।काउन्सिलका अध्यक्ष डा.धर्मकान्त बास्कोटा भन्छन्, ‘मेडिकल शिक्षा पढ्नका लागि योग्य नै नभएका व्यक्तिलाई पैसाकै बलमा अभिभावकले जसरी भए पनि विदेश पढ्न पठाउँछन् । त्यस्ता विद्यार्थीले लाइसेन्स परीक्षा नै पास गर्न सक्दैनन् ।’

दुई महिनाअघि २०१७ डिसेम्बरमा लिइएको लाइसेन्स परीक्षामा ११ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण हुँदा विदेशमा पढेर आएका विद्यार्थीको योग्यतामा प्रश्न उठेको छ । एमबीबीएस उत्तीर्ण गर्दासम्म प्रतिविद्यार्थी औसत ५० लाख खर्च हुने गरेको छ । वर्षमा झन्डै साढे चार अर्ब रुपैयाँ मेडिकल शिक्षाका लागि बिदेसिने गरेको छ ।

काउन्सिलका अध्यक्ष बास्कोटा बाहिरी मुलुकका मेडिकल कलेजको शैक्षिण गुणस्तर अनुगमन गर्नु पहुँच बाहिरको विषय भएकाले यस्तो नतिजा आएको तर्क गर्छन् । उनी थप्छन्, ‘पढेर आइसकेपछि फेक सर्टिफिकेटका रूपमा हेर्न मिल्दैन । हाम्रो मापदण्डमा प्रवेश गराउनका लागि लाइसेन्स परीक्षा लिनै पर्ने हुन्छ । परीक्षा लिँदा १० प्रतिशत मात्र पास हुनुले कमजोर विद्यार्थी विदेशमा पढ्न गएजस्तो देखियो ।’

काउन्सिलका अनुसार पाकिस्तान, किर्गिस्तान, जर्जिया र बेलारुसमा एमबीबीएस पढेर आएका कोही पनि सफल हुन सकेनन् । यी चार देशमा पढेका २३ जना विद्यार्थीले यसअघिको परीक्षामा पनि असफल भएको काउन्सिल स्रोतले बतायो ।

एमबीबीएसको जस्तै निराशाजनक तस्बिर बीडीएसको पनि छ । बंगलादेश र फिलिपिन्सबाट बीडिएस पढेर आएका ८ जना विद्यार्थीले लाइसेन्स परीक्षा दिएकोमा सबै असफल भए । काउन्सिलका अनुसार बंगलादेशबाट बीडीएस पढेर आएका ६ जना परीक्षामा सहभागी थिए भने फिलिपिन्समा पढेर आएका दुई जना परीक्षामा सहभागी थिए ।

अभिभावकको अनुभवमा एउटा विद्यार्थीले साढे पाँच वर्षको एमबीबीएस पढाइ सकेर स्वदेश फर्कंदासम्म झन्डै ५० लाख खर्च गर्ने गरेको छ । विदेश पढ्न पठाए पनि स्वदेशमा फर्केर लाइसेन्स परीक्षा उत्तीर्ण नगर्दासम्म अभिभावकको अवस्था न दिनको भोक न रातको निद्रा हुने गरेको छ । अन्य मुलुकबाट एमबीबीएस सकेर आएका विद्यार्थीको पनि अवस्था सन्तोषजनक छैन । चीनमा एमबीबीएस पढेर आएका विद्यार्थीमध्ये झन्डै ९४ प्रतिशत असफल भएका छन् । बंगलादेशमा पढेर आएका १ सय ४४ जनाले परीक्षा दिएकोमा ७५ प्रतिशत असफल भए । फिलिपिन्समा पढेर आएका २३ जना विद्यार्थीमध्ये १९ जना विद्यार्थी असफल भए ।

त्यस्तै, युक्रेनमा एमबीबीएस पढेर आएका २० जनामध्ये १३ जना असफल भए । भारत र रुसबाट एमबीबीएस पढेर आएका १२-१२ जना विद्यार्थी लाइसेन्स परीक्षामा सहभागी भएका थिए । तीमध्ये भारतबाट आएका पाँच जना फेल भए । रुसबाट आएका सात जनाले असफलता भोगे ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);