काठमाडौ ।
जेनजी आन्दोलनको आडमा मोरङमा भएका आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरूको प्रहरीले पहिचान गर्न थालेको छ ।
विराटनगरका सरकारी र निजी सम्पत्तिहरूमा तोडफोड र आगजनी गने १२५ जनाको पहिचान भइसकेको प्रहरीले जनाएको छ । पहिचान भएकाहरूकाविरुद्ध प्रमाण सङ्कलन गरेर कारबाही गर्ने तयारीमा प्रहरी पुगेको छ ।
आन्दोलनका क्रममा खिचिएका फोटो सार्वजनिक भएका भिडियोका आधारमा प्रहरीले पहिचान गर्न थालेको हो । यस्तै व्यक्ति र सस्थाहरुले गरेको उजुरीका आधारमा समेत पहिचान गर्न थालेको मोरङ प्रहरीले जनाएको छ ।जेनजी आन्दोलनका क्रममा मोरङमा १५५ वटा सरकारी तथा निजी संरचनामा क्षति पुगेको छ ।
यस्तै १५ वटा निजी घरमा तोडफोड र आगजनी भएको छ ।मोरङका प्रहरीले आगजनी, तोडफोड र लुटपाटका घटनाहरूलाई गम्भीर रूपमा लिएर दोषीलाई कानुनी दायरामा ल्याउन अनुसन्धानलाई तीव्र भइरहेको बताएको छ ।
घटनामा संलग्नहरूको फोटो र भिडियो प्रहरीलाई उपलब्ध भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ र यस्ता भिडियोहरू उपलब्ध गराउन समेत कार्यालयले अनुरोध गरेको छ ।सरकारी तथा निजी सम्पत्तिमाथि विध्वंस मच्चाउने जोकोहीलाई कारबाहीको दायरामा ल्याउने तयारी प्रहरीले जनाएको छ । आगजनी, तोडफोड र लुटपाटमा संलग्नेले उन्मुक्ति नपाउने मोरङका प्रहरी उपरीक्षक कवित कटवालले बताए ।




