काठमाडाैं । आज संविधान दिवस मनाइँदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको हो ।
तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले जारी गरेको नेपालको संविधानले एक दशक पुरा गरेको छ । संविधान दिवस–२०८२ लाई आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । सरकारले देशको परिवर्तीत राजनीतिक उपलब्धिको संरक्षण गर्ने मूल कानुन ‘संविधान’ जारी भएको दिनलाई देशव्यापी रुपमा मनाउन आह्वान गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम गरिएको छ । संविधान घोषणाको एक दशकलाई उत्सवका रुपमा मनाउन अघिल्लो सरकारले मूल समारोह समिति गठन गरपनि त्यो सम्भव भएन ।
जेनजी युवा आन्दोलनपछि रक्षात्मक अवस्थामा पुगेका प्रमुख राजनीतिक दलहरुले आ–आफ्ना पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरी संविधान दिवस मनाउँदैछन् । जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएका आ–आफ्नै पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरी दिवस मनाएका हुन् । नेपाली कांग्रेसले ७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले संविधान हातमा लिएर संविधान दिवस मनाउन सर्कुलर जारी गरेको छ ।
नेकपा एमालेले काठमाडौंको हकमा जेनजी आन्दोलनको क्रममा आगजनी भएको पार्टी केन्द्रीय कार्यालय परिसरमा संविधान दिवस मनाएको छ । जेनजी युवा आन्दोलनपछि सरकार छाड्न बाध्य ओली सैनिक व्यारेकको बसाइँपछि आज पार्टी कार्यालयमा सार्वजनिक हुनुभएको छ ।
नेकपा माओवादी केन्द्रले पनि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा संविधान दिवसको कार्यक्रम गरेको छ । जेनजी युवा आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भए पनि लोकतान्त्रिक गणतन्त्र माथि आक्रमण हुनसक्ने आशंकामा रहेका दलहरुले संविधान रक्षाका लागि खबरदारीसहित दिवस मनाएका हुन् ।





