काठमाडाैं । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जेन जी आन्दोलनकारीले आगजनी गरेका सम्पती जोगाउन दमकल प्रयोग गर्न खोज्दा ढुंगामुढा भएपछि तत्काल आगो निभाउन नसकिएको बताउनुभएको छ । महानगर प्रहरीले बोलाएको ठाउँमा समयमै दमकल नपठाएको कारण देशले ठूलो क्षति व्यहोर्नुपरेको जनगुनासो आएसँगै महानगर प्रहरी प्रमुख पाण्डेले यस्तो बताउनुभएको हो ।
बिहीबार वागदरबारमा पत्रकार सम्मेलन गर्दै उहाँले आन्दोलन, आगजनी र तोडफोड भएका कारणले दमकल सडकमा निस्किन नसकेको र २४ गते साँझ बौद्धबाट निस्किन खोज्दा चाबहिलमा आएपछि दमकलमाथि नै ढुंगामुढा भएको र नेपाली सेनाको गाढीमा पनि ढुंगामुढा भएको बताउनुभयो । राति सवा ८ बजेदेखि पौने १० सम्म सिंहदरबारमा दुई वटा दमकल लगेर आगो निभाएको स्पष्ट पार्नुभयो ।
नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिएसँगै आगो निभाउन सहज भएको उहाँको भनाइ छ । भाटभटेनी, हिल्टन, सर्वोच्च अदालत, सिंहदरबारमा पनि दमकल परिचालन गरेको उहाँको भनाइ छ । दमकल जानसक्ने अवस्थामा महानगरले ढिलाइ नगरेको स्पष्टोक्ति छ । सुरक्षाको प्रत्याभुतिको आधारमा दमकल सुरक्षित रहेर उपयोग गरिएको बताउनुभयो ।
महानगर प्रहरीले घाइतेको उपचार, खानपानको व्यवस्थामा समेत खटिएको दाबी गर्नुभयो । महानगरपालिकाले उपत्यकामा ५ वटा दमकल परिचालन गरेको बताउनुभयो ।





