काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता वामदेव गौतमले पार्टीका नेताहरू काठमाडौं केन्द्रित भएको भन्दै आलोचना गर्नुभएको छ । आइतबार काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै वरिष्ठ नेता गौतमले पार्टीका सबै शीर्ष नेता राजधानी उपत्यकामा मात्र रहने प्रवृत्तिका कारण पार्टी संगठनलाई कमजोर बनाएको बताउनुभएकाे हाे।
उहाँले पार्टीका सबै सदस्यहरुलाई कुनै न कुनै जिम्मेवारी तोक्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीमा बसेर पार्टीको नीति र सिद्धान्त पालना नगरेका नेताहरुलाई ‘नक्कली कम्युनिष्ट’को संज्ञा दिनुभयो । उहाँले सदस्यले समाजवाद बुझ्ने, समाजवाद निर्माणका लागि आजको परिस्थितिमा आवश्यक कार्य गर्ने र जनतासम्म पुग्ने जिम्मेवारी लिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
पार्टीका शीर्ष नेताहरु जनतामाँझ नगएसम्म कार्यकर्तामा उत्साह पैदा नहुने उहाँको भनाइ छ । आफू पार्टीमा आवद्ध भएको दुई महिना पुग्दा समेत पार्टीले जिम्मेबारी नदिएको भन्दै उहाँले गुनासो समेत गर्नुभयो ।
कम्युनिष्ट पार्टीहरु सिद्धान्तबिना चल्न नसक्ने उल्लेख गर्दै उहाँले अन्तरपार्टी संघर्ष आवश्यक रहेको बताउनुभयो ।





