‘क्रान्तिको नेतृत्व गर्न पार्टीको कार्यकारी पदमा बसिराख्न जरुरी छैन’ | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८२, बिहीबार

‘क्रान्तिको नेतृत्व गर्न पार्टीको कार्यकारी पदमा बसिराख्न जरुरी छैन’

नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले अब समाजको नेतृृत्व मजदुर, किसान र श्रमजीवि जनताले गर्ने बताउनुभएको छ । मजदुर, किसान र श्रमजीवि जनताको मुद्दा बोक्ने विचार नै अबको नविनतम राजनिति भएको उहाँले बताउनुभयो । हाल संसारभर नै पुँजीपति वर्गले समाजको नेतृत्व गरिहेको उल्लेख गर्दै उहाँले पुँजीवादको विकल्पमा समाजवादी व्यवस्था आउने र त्यसको नेतृत्व किसान श्रमजीवि वर्गले गर्ने दाबी गर्नुभयो । सबैभन्दा नविनतम राजनीति भनेको नै मजदुर किसानको नेतृत्वमा चल्ने राज्य व्यवस्था रहेको उहाँको भनाई छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले अब समाजको नेतृत्व सामान्त वा पुँजीपतिले गर्न नसक्ने दाबी गर्नुभयो । नयाँ भनेर अरु क्रिम पाउडर लगाएर आएकाहरुको पनि राजनितिमा खासै अर्थ नभएको उहाँको भनाइ छ । यद्यपि किसान, मजदुरको प्रतिनिधि भन्ने दलहरुले आफ्नो औचित्य पुष्टी गर्न नसकेको खण्डमा भने नयाँ शक्तिको उदय हुने सचिव कार्कीले बताउनुभयो ।

उहाँले माओवादी पार्टीले २०६३/२०६४ पछि पार्टीलाई जुन कार्र्यदिशामा लैजानुपर्ने हो त्यतातिर लैजान नसकेको बताउनुभयो । उहाँकाअनुुसार पार्टीले मजदुर किसानको राजनितिक वर्चश्व हुने खालको एउटा नयाँ कार्यदिशा, रणनिति अगाडी सार्नुपर्ने थियो । तर आफूहरु सतही कुरामा नै रुमल्लिएर बसेको उहाँको भनार्ई छ । सोही कारण जनता, मजदुर, किसानलाई माओवादी पार्टी पनि पुरानै संसदीय व्यवस्थावादी पार्टी भएको भन्ने भान परेको उल्लेख गर्नुभयो ।

सबैभन्दा बढी महत्व अक्षर, ज्ञानलाई दिनुपर्र्नेमा माओवादी पार्टी त्यसमा चुकेको उहाँले बताउनुभयो । युग अनुकुल, समय अनुकुलको कार्यदिशा विकास गर्न नसकेको उल्लेख गर्नुहुँदै उहाँले त्यो कार्यदिशा विकास गर्न कुनै छलफल नै हुन नसकेको बताउनुभयो । तर आफुले भने निरन्तर यो मुद्दालाई उठाइरहेको उहाँले बताउनुभयो ।

नेपाल १९९० देखि नै विश्व पुँजीबादी प्रणालीमा बाँधिएकोले यहाँका उद्योग, कलकारखाना सबै निजीकरण भएको उहाँको दाबी छ । स्वास्थ्य, शिक्षा जस्तो कुरालाई निजीकरण गरिएर व्यापारको विषय बनाईएको उहाँले बताउनु भयो । राजनितिक पार्टी खासगरी नेकपा एमालेको ठूलो हिस्सा शिक्षा र स्वास्थ्यको व्यापारमा गएको उहाँको आरोप छ । समाजवादको बीज अंकुरण हुने ठाउँ शिक्षा र स्वास्थ्य नै व्यापारमा गएको उहाँले बताउनुभयो । नेपालको शिक्षा व्यवस्था फेर्न खोज्ने हो भने कम्युनिष्ट पार्टीभित्रैबाट ठूलो प्रतिवाद हुने उहाँको भनाइ छ ।

यहाँको शिक्षा, स्वास्थ्य, कृषि प्रणालीलाई फेर्नमा आफूहरु चुकेको उहाँले बताउनुभयो । नेपालको कृषि अहिले उत्पादक र उपभोक्ताको बीचमा दलालतन्त्र बनेको उहाँको भनाइ छ । त्यो दलाल तन्त्रलाई भत्काउन सजिलो नभएको उहाँले बताउनु भयो । उहाँले पार्टी सरकारमा जाँदा पनि किसानको पक्षमा काम गर्न नसकिएको बताउनुभयो ।

पार्टी विघटन गर्न सकिएन भने पुनःगठन हुँदैन
माओवादी सचिव कार्कीले पार्टीलाई विघठन गर्न सक्नुपर्ने बताउनुभएको छ । पार्टीको, सत्ता सबै कुराको निश्चित आयु हुने भएकोले पार्टीलाई निरन्तर विघटनको प्रक्रियामा लैजानुपर्ने उहाँको भनाई छ । पार्टीलाई आवधिक र आंशिक रुपमा विघटन गर्न सक्नुपर्ने भन्दै उहाँले विघठन गर्न सकिएन भने पुनःगठन गर्न नसकिने बताउनुभयो । पार्टीलार्ई विघटन गरेर नयाँ कार्यदिशा दिनुपर्नेमा उहाँको जोड छ । कार्यदिशाको मूल केन्द्रमा मजदुर र किसानलाई राखेर उनीहरुको पक्षपोषण हुने खालको कार्यदिशा लिएर अगाडी जान सकिएमा पार्टी रिभाईबल हुने उहाँको भनाइ छ । कम्युनिष्ट आन्दोलनमा यस्तो हुने उहाँले बताउनुभयो ।

महाधिवेशनमा पार्टी विघटन भएपछि त्यसलाई फेरि नयाँ शिराबाट पुनःगठन गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । यो प्रक्रिया अपनाउन सकिएन भने महाधिवेशन पनि चण्डी, रुद्री, सत्यनारायणको पूजा लगाएजस्तो मात्रै हुने उहाँको भनाई छ । कर्मकाण्डी महाधिवशेन, सम्मेलन, बैठकको कुनै अर्थ नहुने उहाँले बताउनुभयो । आलोचनात्मक चेत कुण्ठित भए त्यो अगाडी बढ्न नसक्ने उहाँको भनाइ छ । उहाँले हाल पार्टीभित्र भइरहेको अन्तरविरोध राम्ररी बाहिर आउन नसकेको बताउनुभयो । मजदुर किसानबाट पार्टी टाढा भएको हुँदा पार्टीले भोगिराखेको यातनाका बारेमा पार्टीभित्र विभिन्न धारणा अभिव्यक्त भईरहेको उहाँको भनाइ छ । उहाँले यो अन्तरविरोधलाई महाधिबेशनमा लगेर महाविवादको रुपमा चलाउनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

कार्यकारी भुमिकामा निरन्तर रहनुहुँदैन
उहाँले पार्टीको नेतृत्व गर्ने जिम्मेवारी युवा पुस्तालाई दिनुपर्नेमा जोड दिनुभयो । खास उमेरमा पुगेपछि, अनुभव गरिसकेपछि पनि कार्यकारी भुमिकामा रहनु उचित नहुने उहाँको भनाई छ । क्रान्तिको नेतृत्व गर्न, अगुवाई गर्न पार्टीको कार्यकारी पदमा बसिराख्न जरुरी नभएको उहाँले बताउनु भयो । युवा नयाँ उत्साह भएकाहरुलाई पदाधीकारी ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । वैचारिक रुपमा, राजनितिक रुपमा अगुवाई गर्ने गरी संगठनमा पनि नयाँ प्रकारको संरचना बनाउन आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई हटाएर मात्रै पनि समस्याको समाधान नहुने बताउनुभयो । एउटा व्यक्तिलाई मात्रै फेरेर केही नहुने भन्दै उहाँले पूरै कार्यदिशा, रणनिति र नेतृत्व फेर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

पार्टीको कार्यदिशा, रणनिति, नेतृत्व सवै क्रान्तिकारीकरण हुनुपर्ने उहाँको भनाइ छ । यस्तै उहाँले पारदर्शीता हुनुपर्नेमा जोड दिनुभयो । प्रजातन्त्र र समाजवादसँग पारदर्शी शब्दको अविभाज्य सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै उहाँले हाम्रो जीवन लुकेको छ भने जनताले शंका गर्ने बताउनुभयो ।

Leave a Reply