नेकपा (एकीकृत समाजवादी) भित्रको अन्तरकलहले पार्टी मात्र होइन, समग्र नेपाली वाम आन्दोलनलाई नै चुनौतीको सामना गराएको छ । यस्तो अवस्थामा नेताहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनात्मक एकता, वैचारिक स्पष्टता र जनउत्तरदायी नेतृत्व विकास गर्न आवश्यक छ । नेपाली वाम आन्दोलनको भविष्य नेताहरूको दूरदृष्टि, समझदारी र कार्यकर्ताको विश्वास पुनरस्थापनामा निर्भर छ ।
नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालबीच हाल देखा परेको मनमुटावले पार्टीको स्थायित्वमाथि गम्भीर प्रश्न उठाएको छ । कुनैबेला मुख्य स्तम्भका रुपमा चिनिएका यी दुई नेताबीच विश्वासको संकट देखिनु केवल व्यक्तिगत असन्तोषको विषय होइन, यो सम्पूर्ण पार्टी संरचना र नेपाली वाम आन्दोलनकै दिशामाथि गम्भीर असर पार्ने सम्भावना बोकेको विषय हो ।
करिब चार वर्षअघि नेकपा एमालेबाट अलग भइ गठन गरिएको एकीकृत समाजवादी पार्टीले आफूलाई वैचारिक रूपमा एमालेभन्दा पृथक, लोकतान्त्रिक समाजवादको मार्गदर्शक शक्तिका रूपमा प्रस्तुत गर्न खोजेको थियो, तर गठनको चार वर्ष नपुग्दै शीर्ष नेताबीचको खाडल, आन्तरिक गुटबन्दी र संगठनात्मक दिशाहीनता पार्टीको अस्तित्वलाई नै संकटमा पार्ने स्थितिमा पुगेको छ ।
माधवकुमार नेपाल पार्टी अध्यक्षको हैसियतमा आफूले लिएको निर्णयप्रति खनाल पक्षको असहमति मात्र होइन, नेतृत्वशैलीप्रतिको असन्तुष्टि पनि देखिन्छ । झलनाथ खनालले वैकल्पिक नेतृत्वको चर्चा गर्दै सार्वजनिक असन्तुष्टि व्यक्त गर्नुले पार्टीभित्र लोकतान्त्रिक अभ्यासको कमजोरीलाई उजागर गर्छ । यस्ता सार्वजनिक मतभेदले कार्यकर्तामा निराशा र भ्रम सिर्जना गर्दै पार्टीको आधार कमजोर बनाउने सम्भावना रहन्छ ।
यसैबीच, वाम एकताको चर्चा फेरि मौलाउन थालेको छ । तर वाम एकता केवल नेताहरूको गुटगत स्वार्थ पुरा गर्ने उद्देश्यले होइन, वैचारिक स्पष्टता, जनताको समस्याप्रति प्रतिबद्धता र राजनीतिक स्थायित्वप्रति जिम्मेवार दृष्टिकोणका साथ अघि बढ्नुपर्छ। पछिल्लो समय वाम दलहरू आ–आफ्नो अस्तित्व जोगाउने चिन्तामा अल्झिएका छन्, जसले वाम आन्दोलनलाई कमजोर बनाएको छ ।
समग्रमा हेर्दा, एकीकृत समाजवादीको आन्तरिक समस्याले एकीकृत समाजवादीलाई मात्र होइन, सिंगो नेपाली वाम आन्दोलनको विश्वसनीयता र प्रभावशीलतामा आघात पुर्याउने खतरा बढेको छ । नेताहरूले व्यक्तिगत इगोभन्दा माथि उठेर संगठनात्मक एकता र वैचारिक मार्गदर्शनमा ध्यान दिनु आजको आवश्यकता हो । नेपाली वाम आन्दोलनको सुदृढ भविष्य केवल नेतृत्वको समझदारी, पारदर्शिता र कार्यकर्तामाँझको विश्वासमा निर्भर रहनेछ ।





