काठमाडाैं । निर्वाचन आयोगले कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि साउन २१ गतेदेखि दल दर्ताको मिति तोकेको छ । आयोगले शुक्रबार सूचना जारी गरी साउन २१ गतेदेखि २७ गतेसम्म दल दर्ताको म्याद तोकिएको जानकारी दिएको हो ।
रुपन्देही क्षेत्र नम्बर ३ मा २०७९ को निर्वाचनमा एमालेको समर्थनमा विजयी भएका राप्रपाका दीपक बोहोराको ०८१ चैत १९ गते निधन भएपछि रिक्त पदमा कात्तिक १७ गते उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा भाग लिन चाहेमा निर्वाचन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुले काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा कार्यालय समयभित्र दल दर्ता गराउन सक्ने सूचनामा उल्लेख छ ।
दल दर्ताका लागि निवेदन दिँदा विभिन्न कागजात बुझाउन आयोगले भनेको छ । दल दर्ताको निवेदन दिन राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा दिनु पर्ने छ । राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता मएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सञ्जालको खाता पनि पेश गर्नुपर्ने छ ।
साथै दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, पछिल्लो पटक आयोग समक्ष दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मितिकाे कागजात पेश गर्नेपर्ने छ ।
त्यस्तै, उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न र उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार दिएको केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेश गरेको मिति, आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा दलको प्रमुख पदाधिकारीको दस्तखत उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्ने तोकिएको ढाँचामा पदाधिकारीको नाम थर, पद र सम्पर्क नम्बर सहितको दस्तखत नमूनालगायतका कागजात पेश गर्नुपर्ने आयोगले जानकारी दिएकाे छ ।





