नेवार समुदायकाे पूरानाे पर्व 'घण्टाकर्ण' | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

नेवार समुदायकाे पूरानाे पर्व ‘घण्टाकर्ण’

काठमाडाैं । हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठामंगल अर्थात् घण्टाकर्ण पर्व आज काठमाडाैं उपत्यकाका भित्री शहरमा मनाइदै छ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामंगल घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी काठमाडौको भित्री भागका नेवार समुदायले मनाउँछन् ।

परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ ।

छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठामंगल बेलुकी भने खेतको बीचमा लगेर बाल्दा धानमा कीरा नलाग्ने विश्वास छ । ठाउँ एवम् कुल परम्पराअनुसार कतै भने गठामंगललाई खोला वा नदी किनारमा लगी जलाइन्छ ।

गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्व, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ । यस्तो परम्परा अहिले पनि राजधानीको तीनै शहर काठमाडौ, ललितपुर र भक्तपुरका भित्री भागमा छ ।

पौराणिक कथन अनुसार दुबै कानमा घण्ट झुण्ड्याई आहाराको खोजीमा निस्कने घण्टासुर राक्षसलाई मार्न एक जना तान्त्रिकले भ्यागुताको रूप लिएर धाप भएतिर बाटो देखाइदिँदा राक्षस धापमा गाडिएको र सबैजना जम्मा भइ त्यसलाई मारेको सम्झना स्वरुप घण्टाकर्णको प्रतीकका रुपमा नर्कटको प्रतिमा बनाइन्छ ।

यस्तै, मान्छेलाई पनि घण्टाकर्णको प्रतीकका रुपमा विभिन्न रङ्गले रङ्गाएर राख्ने चलन पनि छ ।

Leave a Reply