आज बाट नेवार सम्प्रदायको गुँला पर्व सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

आज बाट नेवार सम्प्रदायको गुँला पर्व सुरु

काठमाडाैं । आज बाट नेवार सम्प्रदायको गुँला पर्व सुरु भएको छ ।

नेपाल सम्वतका अनुसार, गुँला एक महत्वपूर्ण महिना हो । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौ र ‘ला’को अर्थ महिना भन्ने हुन्छ । अर्थात्, नवौ महिना भन्ने बुझिन्छ ।

विक्रम सम्वत् अनुसार साउन शुक्लपक्ष प्रतिपदादेखि भाद्र शुक्लपक्ष प्रतिपदासम्म एक महिनाको अवधि नै गुँला हो । यस गुँला महिनामा नेवाः समुदायमा विशेष रुपमा अनि काठमाडौँ उपत्यका लगायत नेवाः समुदायको बाहुल्यता भएका ठाउँमा मनाइन्छ ।

नेवाः समुदायका बौद्धमार्गी परिवारमा यो पर्वको उल्लास अझ बढी रहेको पाइन्छ । भगवान बुद्ध अनि उहाँका अनुयायीहरू दिव्य प्रवचन अनि ज्ञानको प्रचारमा जाँदा बर्खाका समयमा यात्रा नगरी एकै ठाउँमा बस्ने भएकाले यस पर्वलाई बर्खा अनि ज्ञानको एउटा संगम पनि मानिने गरिन्छ । विशेषगरी नेवार समुदायले मनाउने गुँला पर्वमा बिहान स्वयम्भू भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ ।

आज काठमाडौं उपत्यकाका चोक चौराहहरूमा विशेष गुँला संगीतको श्रवण गर्न सकिन्छ । त्यस्तै गुम्बा, मन्दिर, अध्यात्मिकस्थलमा भक्तजनको आवागमन धेरै रहन्छ । बहीद्यः स्वःवनेगु नेवाः संस्कृतिको अनन्य पाटो हो, जहाँ अघिअघि बाजा अनि संगीत अनि पछि–पछि भक्तजनहरू हुन्छन् ।

आजका दिनमा यस्ता झाँकीहरू प्रशस्तै देख्न सकिन्छ, काठमाडौँ उपत्यकामा । द्यः थायेगु आजको विशेष क्रियाकलापमा पर्छ । आज कालो माटोलाई प्रयोग गरेर कालो काँचो माटोले स–साना स्तुपा बनाउने चलन छ ।

काठमाडौँ र ललितपुरमा पन्जारा अर्थात् बुद्ध लगायत अन्य साधु सन्तको प्रतिमा अनि भगवानको प्रतिनिधित्व गर्ने खटलाई शहरमा घुमाउने अनि चामल लगायतका चिजबिज जम्मा गर्ने चलन पनि छ । बौद्धमार्ग एउटा सन्तुलनको वकालत गर्ने दर्शन हो, जहाँ दान अनि शान्ति लगायत आत्मिक चिन्तनलाई धेरै महत्व दिने गरिन्छ ।

गुँला पर्वलाई चन्द्रमानका बिभिन्न तिथिमा बिभिन्न प्रकारले मनाइन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);