यस्तै नेतृत्वले मुलुककाे काँचुली फेर्छ भन्नु दिवास्वप्न ! | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

यस्तै नेतृत्वले मुलुककाे काँचुली फेर्छ भन्नु दिवास्वप्न !

-निशान थापा
विश्वका दुई ठुला दोस्रो र तेस्रो अर्थतन्त्र भएका चीन र भारतको बीचमा रहेको नेपाल दिन प्रतिदिन भ्रष्टाचारको चङ्गुलमा फस्दै गइरहेको छ । ट्रान्सपरेन्सी इन्टरनेश्नलका अनुसार नेपाल ३४ अंकसहित सबैभन्दा भ्रष्ट मुलुकको १०७ औँ स्थानमा छ । राज्यका सम्पूर्ण संयन्त्रहरु भ्रष्टाचारमा प्रत्यक्ष परोक्ष मुछिनु लाजमर्दाे भएको आमनागरिकको बुझाइ छ । उनीहरुका अनुसार राज्यको वागडोर सम्हालेका संयन्त्रहरु देश र जनताको हितका लागि नभइ व्यक्तिगत स्वार्थ पूरा गर्न छलकपट र जालझेल गर्न व्यस्त छन्। देश चलाउन जनताले चुनेर पठाएका जनप्रतिनिधिहरु जनता र देशको स्वाधिनताका लागि काम गर्नुको साटो, आफ्नो सत्ता जोगाउन विचौलियासँग साँठगाँठ गरेर जनजीवीकाको सवालमा काम नगरेको आमनागरिकको गुनासो छ ।

कुनै पनि देशमा विकास र समृद्धिका लागि राज्य व्यवस्था राम्रो हुनु अपरिहार्य छ । नेपालमा २००७ सालदेखि कैयौँ तन्त्र र व्यवस्था फेरिए । तर जनताको जीवन स्तर भने फेरिएन । हिजो खाली खुट्टा हिड्ने जनता आज चप्पल लगाउन सक्ने भए भन्दैमा देश विकासको गतिमा छ भन्न मिल्दैन ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार हाल प्रत्येक नागरिकको प्रतिव्यक्ति आम्दानी एक हजार चार ९६ र प्रतिव्यक्ति खर्च एक हजार नौ सय डलरभन्दा बढी छ । यसले पनि नेपाल कस्तो अवस्थावाट गुज्रिएको छ भनेर पुष्टि हुन्छ । राज्यका संयन्त्रहरु राज्यकै स्राेत साधन दोहन गर्नमै व्यस्त छन् । यस्तो अवस्थामा राज्यका संयन्त्रहरु स्वार्थ केन्द्रित नभइ मुलुकको हितमा काम गर्नुपर्ने आमसर्वसाधारणको अपेक्षा छ ।

नेपाल राणाकाल, राजतन्त्र, प्रजातन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्यो । ३८ जनाभन्दा बढी प्रधानमन्त्री भइसके। गणतन्त्रपछि मात्रै एक दर्जनभन्दा बढी प्रधानमन्त्री भइसकेका छन् । तर जनताको जीवनस्तर जहाँको त्यहीँ छ ।

जनताले समय समयमा व्यवस्था परिवर्तनका लागि कैयौँ तन्त्र राेजे र फाले पनि, तर जनहितमा काम गर्न सक्ने सही नेतृत्व भने छान्न सकेनन् । राज्य संयन्त्र कब्जा जमाएर बसेका पात्रहरुले देश बनाउन तन्त्र र मन्त्र होइन चरित्र बदल्नु आवश्यक छ, यदि चरित्र नबदल्ने हाे भने मुलुकले काँचुली फेर्छ भनेर सोच्नु दिवास्वप्नबाहेक केही हुने छैन ।

Leave a Reply