–मोहनप्रसाद मैनाली
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७३ जिल्लामा डेङ्गी रोगको सङ्क्रमण फैलिइसकेको छ । महाशाखाले यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी सङ्क्रण हुने चेतावनीसहित सतर्कताका लागि अनुरोध गरेको छ । साउनदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको जोखिम उच्च रहने भएकाले त्यसपूर्व नै सङ्क्रमण रोकथाम तथा व्यवस्थापनका लागि तिनै तहका सरकार र आमसर्वसाधारण चनाखो हुन आवश्यक छ ।
नेपालमा डेङ्गी संक्रमणको अवस्था पछिल्लो समय पुनः सक्रिय बन्दै गएको छ । स्वास्थ्य सेवा विभागका अनुसार अहिले देशका ७३ जिल्लामा डेङ्गी संक्रमण फैलिएको छ । नेपालमा सन् २००४ मा पहिलो पटक देखिएको डेङ्गी २०१९ देखि लगातार बढ्दै गएको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोग यस वर्ष ६० हजारभन्दा बढी व्यक्तिलाई देखिने आँकलन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुमान गरेको छ । स्वास्थ्य सेवा विभागका अनुसार गत पुस महिनादेखि हालसम्म एक हजार नौ सय पाँच जनामा संक्रमण पुष्टि भइसकेको छ । मनसुनमा बढ्दै जाने डेङ्गी भदौ र असोजमा उच्च बिन्दुमा पुग्ने गरेको छ ।
चिकित्सकका अनुसार ‘एडिस’ नामक लामखुट्टेको सङ्क्रमणबाट डेङ्गी संक्रमण हुन्छ । एउटा लामखुट्टेबाट कम्तीमा आफ्नो जीवनकालमा दश जनालाई संक्रमण गर्न सक्ने भएकाले यो लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य उपाय रहेको चिकित्सक बताउँछन् । यस्तो लामखुट्टे बिहान र साँझपख सक्रिय हुने हुनाले यसको टोकाइबाट बच्नका लागि शरीर छोपिने गरी लुगा लगाउने, घरका झ्याल ढोकामा जाली लगाउने, सफा भाँडामा धेरै दिन पानी खुल्ला गरी नराख्ने, खाल्डाखुल्डीहरुमा पानी जमेको भेटिए सफा गर्ने जस्ता अभियान जारी राख्न चिकित्सकले सुझाव दिएका छन् ।
विशेषगरी मनसुन र गर्मीको समयमा साउनदेखि कात्तिक महिनासम्म संक्रमणको दर उल्लेखनीय रूपमा बढ्ने गरेको छ ।
काठमाडौं उपत्यका, चितवन, पोखरालगायत उच्च जनघनत्व रहेको शहरी क्षेत्रमा यसको प्रभाव बढी देखिएको छ । तराई वा गर्मी भूभागमा मात्रै देखिने डेङ्गी केही वर्षदेखि हिमाली क्षेत्रमा समेत देखा पर्न थालेको छ ।
पछिल्लो समय नेपालमा अत्यधिक बढेको डेङ्गी संक्रमणबाट सन् २०२३ मा २० जना र २०२४ मा १३ जनाको मृत्यु हुन पुग्यो । सन् २०२२ मा ७७ वटै जिल्लामा फैलिएको डेङ्गीबाट ८८ संक्रमितको मृत्यु भयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘डेङ्गी रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८१’ अन्तर्गत संघ, प्रदेश र स्थानीय तहलाई समन्वयात्मक भूमिका तोकेको छ । सातै प्रदेशमा आवश्यक ल्याब स्थापना गरी स्वास्थ्यकर्मीहरूलाई तालिम दिएको छ । तीनै तहका सरकारले लामखुट्टेको लार्भा पहिचान र नष्ट गर्न कार्यालय, अस्पताल, विद्यालय, बस्तीहरूमा सरसफाइ तथा लार्भा विनाश अभियान सञ्चालन गरिरहेको छ ।
जनचेतना अभिवृद्धि तथा विद्यालयस्तरका कार्यक्रमहरूमार्फत् समुदायमा सचेतना फैलाउने प्रयास पनि भइरहेको छ । डेङ्गी नियन्त्रणका लागि सरकारको तयारी पर्याप्त देखिए पनि यसको प्रभावकारिता जनस्तरमा निर्भर हुन्छ । जोखिम न्यूनीकरणका लागि घर–घरमा पानी जम्ने भाँडो र ट्यांकी जाँच गर्ने, विद्यालय, अस्पताल, सार्वजनिक स्थानमा नियमित सरसफाइ गर्ने र लामखुट्टे टोकाइबाट जोगिने उपायहरू अपनाउनु अत्यावश्यक छ ।
डेङ्गीको संक्रमण अझै न्यूनीकरण गर्न सकिने चरणमै छ, तर त्यसका लागि सशक्त सरकारी नेतृत्व, स्थानीय तहको सक्रियता र आमसर्वसाधारणको सहभागिता अपरिहार्य छ । डेङ्गी नियन्त्रणको लडाइँ केवल स्वास्थ्य मन्त्रालयको मात्र होइन, सम्पूर्ण जनताकै सरोकार हो । सरकारको तयारी, विज्ञहरूको सतर्कता र जनस्तरको सक्रिय सहभागिताबाट मात्र यो रोग नियन्त्रणमा ल्याउन सकिनेछ ।





