देश धनी बनाउने उपाय खाेजाैँ | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८२, आइतबार

देश धनी बनाउने उपाय खाेजाैँ

राजनीतिक दलका नेता र देश चलाउने सरकारले देश संमृद्ध अर्थात् धनी बनाउने योजनाका साथ काम गर्नुपर्छ । दलका नेता र सरकारको काम आमनागरिकका लागि प्रेरणादायी बन्ने मात्र नभइ भविष्य केन्द्रित पनि हुनुपर्छ । देशको अर्थतन्त्र र उद्योगधन्दाले आयातलाई रोक्ने र उत्पादन बढाउने लक्ष्य निर्धारण गर्नुपर्छ । उद्योगमा लगानी र कृषिको उत्पादनलाई देशको मौद्रिक नीतिले समेट्न सक्नुपर्छ ।

 

देश धनी बनाउन सरकारले उद्योग र देशको कृषि फस्टाउने नीति अपनाउनै पर्छ । त्यसका लागि विदेशी आयात रोकेर स्वदेशी उत्पादनलाई बजारीकरण गर्नैपर्छ । औद्योगिक क्षेत्रमा लगानीमैत्री वातावरण बन्न नसक्दा नेपालमा बेरोजगारको संख्या बढ्दो छ । कृषि क्षेत्रमा उद्योगधन्दा सञ्चालन गरेर रोजगारी सिर्जना गर्ने बाटोमा सरकारको ध्यान पुग्न नसेको उद्योगी र व्यवसायीको भनाइ छ ।

उद्योगी र व्यवसायीलाई पलायन हुन नदिइ टिकाउने रणनीतिमा सरकारकाे नीति र कार्यक्रम लक्षित हुनुपर्छ । अहिले सुनसरी-मोरङ औद्योगिक करिडोरमा रहेका पाँच सय ५० उद्योगमध्ये अहिले एक सय ५० वटा उद्योग पनि पूर्ण क्षमतामा सञ्चालनमा छैनन् । यसैगरी, बारा जिल्लाको औद्योगिक क्षेत्रका उद्योगहरू पनि नियमित सञ्चालनमा छैनन् । देशका वीरगञ्ज, हेटौँडा, नेपालगञ्ज र पोखरालगायतका विभिन्न क्षेत्रमा स्थापित उद्योग कलकारखाना एकातिर सबै सञ्चालनमा छैनन् भने अर्कातिर सञ्चालन भएका पनि पूर्ण क्षमतामा चलेका छैनन् । उद्योगलाई पूर्ण क्षमतामा चल्ने नीति बनाउनुपर्छ ।

देशको मौद्रिक नीति पनि स्वदेशी उद्योग र कृषिमैत्री बन्न सक्नुपर्छ । नेपाल बाहिरबाट नेपाल भित्रिने सरसामानका कारण नेपाली उद्योगले बजारमा प्रतिस्पर्धा गर्न नसकेका हुन् । सरकारको नीति नै नेपाल बाहिरबाट आउने जुनसुकै बस्तु रोकेर नेपाली उत्पादनको बजारीकरणको ग्यारेन्टी गर्नैपर्छ । विगतका गल्तीबाट पाठ सिकेर वर्तमानमा सुधार नगर्ने हो भने रोजगारी सिर्जनाका लागि निजी क्षेत्रले सिन्को भाँच्न सक्दैन ।

देशभित्रै गरी खाने वातावरण बनाउन, कृषि क्षेत्रलाई उद्योगका रुपमा विकास गरेर विदेश पलायन हुने युवालाई देशका कृषि उद्योगमा रोजगारी दिनुपर्छ । कृषि क्षेत्रलाई अहिलेको जस्तो परम्परागत निर्वाहमुखी नबनाइ, कृषि उद्योगका रुपमा विकास गर्नुपर्छ । जनशक्ति विदेश निर्यात गरेर कहिल्यै कुनै देश धनी बन्दैन । जनशक्ति मात्र होइन, कच्चा पदार्थ निर्यात गर्ने देश पनि धनी बनेको इतिहास छैन । देश धनी बनाउन विदेशी आयात रोकेर स्वदेशी उत्पादन बढाउनै पर्छ ।

नेपालले विदेशमा पानी बेच्न सक्ने हो भने भविष्यका लागि दीगो आम्दानीको बाटो बन्न सक्छ । तर पानीबाट उत्पादित बिजुली बेचेर देश धनी बनाउने हाम्रो कल्पनामा ठेस लाग्ने विभिन्न वाधा अवरोध भविष्यमा नथपिएलान् भन्न सकिन्न । त्यत्ति मात्र होइन, भविष्यमा भारत र बंगलादेशले आफै विभिन्न स्राेतबाट उर्जा उत्पादनमा केन्द्रित भए भने पनि हाम्रो उत्पादित बिजुली सधैँ नकिन्न सक्छन् ।

त्यसैले, नेपालले छिमेकी देशलाई पानी बेच्ने योजना बनाउनु पर्छ । भविष्यमा भारतलाई सबैभन्दा बढी आवश्यक पानीको पर्छ । नेपालको पानी भारतको भरपर्दो र दीगो स्राेत हो । छिमेकीको आवश्यकतालाई बुझेर हामीले योजना बनाउन सक्यौँ भने देश धनी बनाउन समय लाग्दैन । दैलेखको इन्धनलाई समयमा उत्पादन गर्ने अठोट राज्यले लिनैपर्छ, जसले देशलाई आत्मनिर्भरताकाे बाटोमा अगाडि बढाउन मद्दत मिल्छ ।

Leave a Reply