कहिले बन्छ मुलुक आत्मनिर्भर ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

कहिले बन्छ मुलुक आत्मनिर्भर ?

आफ्नो उत्पादन नहुँदा आयातमा खर्च हुने अर्थतन्त्र नियन्त्रण गर्न मुस्किल छ । सरकारले आत्मनिर्भरतर्फ देशको उत्पादन बढाउने कार्यक्रम ल्याउन नसक्दा हामी झन्-झन् परनिर्भर हुनुपरेको छ । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रले उद्योगी र व्यवसायमैत्री लगानी गरेको देखिदैन ।

आत्मनिर्भर बन्न मुलुकले उत्पादन बढाउनुपर्छ । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रले उद्योगी र व्यवसायमैत्री लगानी गरेको देखिदैन । कृषि क्षेत्रका उद्योगमा लगानी बढ्न सकेका छैनन् । जबसम्म कृषि क्षेत्रलाई औद्योगीकरणमा अगाडि बढाइँदैन तबसम्म मुलुक आत्मनिर्भर बन्नेबाटोमा अघि बढ्नसक्तैन । हामीले दैनिक उपभोग गर्ने बस्तु बाहिरबाट आयात गर्ने क्रम नियन्त्रण गरेर हाम्रो उत्पादन निर्यात गर्नसक्नुपर्छ । देशले आम्दानी बढाउने काममा लगानी गर्नसक्नुपर्छ । पछिल्लो समय मुलुकको आम्दानी बढाउने कामभन्दा खर्च बढाउने क्रम मात्र बढेको छ ।

२०८१ साउनदेखि २०८२ जेठ मसान्तसम्म ११ महिनामा नेपालले १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख ९९ हजार रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत वर्ष भने यो अवधीमा १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख २५ हजार रुपैयाँ वैदेशिक व्यापार भएको थियो । यसपालि गत वर्ष भन्दा १८.८० प्रतिशतले वैदेशिक व्यापार बढेको छ । यो वर्ष १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख रुपैयाँ व्यापार घाटा भएको छ भने गत वर्ष यही अवधीमा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख ५८ हजार रुपैयाँ व्यापार घाटा थियो । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.३० प्रतिशतले बढी रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

तर, थोरै आशा लाग्दो तथ्याङ्क चाहिँ के छ भने हाम्रो निर्यात बढ्दा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा घटेको छ । गत वर्षको यही अवधीमा कुल व्यापारमा आयातको हिस्सा ९१.२६ र निर्यातको हिस्सा ८.७४ प्रतिशत मात्रै थियो भने यो वर्ष सुधार भएर कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.९२ प्रतिशत र निर्यातको हिस्सा १३.०८ प्रतिशत रहेको छ ।

यही सन्दर्भमा हाम्रो विदेश निर्यात हुने बस्तुहरुमा आएको सकारात्मक परिणामको खोजी गर्ने र यसलाई बढाउन सरकार निरन्तर लाग्ने हो भने देशमा उत्पादन क्षमता बढाएर केही वर्षमा नै यो तथ्याङ्क आशा लाग्दो बनाउन सकिन्छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्षको जेठ मसान्तमा रु २१ अर्ब १२ करोड बराबरको धान–चामल नेपालमा आयात भएको थियो भने यस आर्थिक वर्षको जेठ मसान्तसम्ममा गत वर्षको तुलनामा करिब रु १७ अर्ब ८२ करोडले वृद्धि भई रु ३८ अर्ब ९४ करोड बराबरको आयात भएको छ ।

औषत तथ्याङ्कमा यसलाई हेर्ने हो भने प्रत्येक महिना औसत रु ३ अर्बभन्दा बढीको धान–चामलको आयात हुन्छ । त्यसैगरी, चामललाई मात्रै हेर्ने हो भने गत वर्ष जेठ मसान्त सम्ममा रु १२ अर्ब ४३ करोडको चामल आयात भएकोमा यो आवको ११ महिनामा रु १७ अर्ब ७८ करोड बराबरको आयात भएको तथ्याङ्कले देखाउँछ ।

नेपालको हावापानी, ६००० नदीनाला वर्ष भरी नै सिँचाई गर्न योग्य मानिन्छन् । प्राङ्गारिक मलको सम्भावना र खेती गर्न बाँकी रहेको जमिनको आकार हेर्दा नेपालमै उत्पादन हुनसक्ने धान बाहिरबाट आयात गर्दा अनावश्यक रुपमा व्यापारघाटा बृद्धि भएको त होइन भन्ने विषयमा सोच्न आवश्यक छ ।

Leave a Reply

ताजा समाचार