बिपी राजमार्गमा रात्रिकाे समय सवारी सञ्चालनमा राेक | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

बिपी राजमार्गमा रात्रिकाे समय सवारी सञ्चालनमा राेक

गतवर्ष असोज १२ र १३ गतेको अत्यधिक वर्षाका कारण आएको बाढी र पहिरोले क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माण हुन नसक्दा यातायात सञ्चालन अस्तव्यस्त बनेको छ । यस वर्षको मनसुन शुरु भएसँगै सम्भावित विपद्बाट हुन सक्ने जनधनको क्षतिबाट बच्न बिपी राजमार्गमा रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ । 

काठमाडाैं । राजधानी काठमाडौंबाट पूर्वतर्फ जाने छोटो दूरीको बिपी राजमार्गमा रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ । काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिले शनिबार मध्यराति १२ बजेदेखि बिहान ५ बजेसम्म १५ दिनका लागि यातायात सञ्चालनमा रोक लगाएको हो ।

मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै तिनै जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिकोे बैठकले रातिको समयमा गाडी चलाउन नदिने निर्णय गरेको हो । वर्षामा बाढीपहिरोको जोखिम भएकाले काठमाडौंबाट पूर्व जाने सवारीलाई काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ जाने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिने भएको छ ।

गतवर्ष असोजको १२ र १३ गते आएको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्डको सडक बगाएपछि यातायात सहज हुन सकेको छैन । रोशी खोलाको किनारै किनार अस्थायी सडक निर्माण गरी कतै एकतर्फी तथा कतै दुईतर्फी यातायात सञ्चालन हुने गरेको छ ।

सडक बगाएको एक वर्ष पुग्न लाग्दासमेत स्थायी समाधानका लागि सरकारले काम नै शुरु गर्न सकेको छैन । क्षति पुगेको सडक पुनर्निर्माणका लागि करिब सात अर्ब रुपियाँ लाग्ने सरकारको अनुमान छ । क्षति भएका विभिन्न खण्डमध्ये कुनै एक खण्ड निर्माणका लागि जापानले २ अर्ब ६३ करोड सहयोग गर्ने घोषणा गरेको छ । तर सरकारले काम गर्न ढिलाइ गर्दा पूर्वी नेपाल जोड्ने छोटो दूरीको रूपमा रहेको बिपी राजमार्गबाट दैनिक आवतजावत गर्ने हजारौँ यातायातका साधान तथा यात्रु अलपत्र पर्ने गरेका छन् ।

बाढीपहिरोले राजमार्गको कुल एक सय ६० किलो मिटरमध्ये ८४ किलोमिटरमा क्षति पुर्याएको छ । राजमार्गको तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किलोमिटर र चौथो खण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किलोमिटरका विभिन्न क्षेत्रमा क्षति पुगेको हो ।

समयमै सडक पुनर्निर्माण हुन नसक्दा यस पटकको वर्षाको समयमा पनि यातायातको साधन सञ्चालनमा समस्या पर्ने निश्चित छ । यात्रुहरुले बाढी, पहिरोलगायत मनसुनजन्य विपदबाट बच्न नजिकका प्रहरी कार्यालयहरुमा सोधपुछ गरी सडकको अवस्था र मौसमसम्बन्धी पछिल्लो जानकारी लिनु आवश्यक छ ।

Leave a Reply

ताजा समाचार