काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले अवरोध र विरोधको बेवास्ता गर्दै सदन चलाउनु दुःखको कुरा भएको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा विनियोजन शीर्षकहरु माथिको छलफलमा भाग लिँदै सांसद शर्माले नेतृत्वको काम भनेको समस्याको समाधान गर्ने भएपनि समस्या समाधानतर्फ चिन्ता र चासो नहुनु दुःखद् भएको बताउनुभएको हो ।
सांसद शर्माले बजेट वार्षिक कार्यक्रम भएको र वर्ष भरलाई कार्यान्वयन हुने कार्यक्रममा सांसदहरुले आफ्नो कुरा राख्न नपाएकोप्रति आपत्ति जनाउनुभयो । बजेट बक्तव्यमा हतार गरेर सांसदहरुको अधिकार कटौती हुनेगरी टुंग्याइएकोप्रति दुःख व्यक्त गर्दै सांसद शर्माले मध्यपूर्वमा चर्किरहेको युद्धको मारमा रहेका नेपालीको सुरक्षा र उद्धारको तयारीबारे सदनमा जानकारी गराउन सरकारलाई आग्रह गर्नुभयो ।
सांसद शर्माले मध्यपूर्वमा रहेका चालिसौँ लाख नेपालीको सुरक्षा, रोजगारी लगायतका विषय गम्भीर भएकाले त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।




