काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद जबरजस्त चलाउनु संसदीय व्यवस्थाकै लागि एउटा धब्बा भएको बताउनुभएको छ ।
सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले भिजिट भिसाको विषय छानविन हुनुपर्छ भनेर आन्दोलन गर्दा जबरजस्ती संसद सुचारु गर्नु संसदीय व्यवस्थाकै लागि एउटा धब्बा भएको बताउनुभएकाे हाे।
उहाँले यसले कतै न कतै राजनीतिक दलहरुलाई भविष्यमा प्रश्न तेर्साउने जिकिर गर्नुभयो । सदन चलाउने वातावरण बनाउने काम सरकारको भएको बताउनुभयो ।
पार्टीले गरेकाे संसद अवराेध आन्दोलनको एउटा स्वरुप भएकाे भन्दै सांसद परियारले भन्नुभयाे, ‘संसदको चौथो ठूलो राजनीतिक दलले अवरोध गरिरहँदा संसद यसरी सुचारु हुनु र संसद जबरजस्त चलाउनु भनेको हाम्रो संसदीय व्यवस्थामै एउटा धब्बा हो । यो नहुनुपर्ने अभ्यास भइरहेको छ ।’
सदन चलाउने वातावरण बनाउने कुरा सरकारको भएकाे भन्दै प्रमुख सचेतक परियारले सदन जनताप्रति उत्तरदायी हुन नसकेको आरोप लगाउनुभयो ।




