नेपालबाहिर बसेर नेपालका विषयमा अनावश्यक टिकाटिप्पणी गर्नु कति सान्दर्भिक होला ? घरजम र बसोबास नै विदेशमा भएकाहरुले नेपालको शान्ति र स्थिरतामा आँच आउने काम गर्नु हुन्न भन्ने सम्मको चेतना पनि धेरैमा देखिएन । देश छाडेर सुखसयलमा रमाएकाहरुले राजनीतिक परिपाटी, सरकार र राजनीतिक दलका नेताकाविरुद्ध मनगडन्ते भ्रम छर्दा देशको इज्जत बढ्छ कि घट्छ ?
सम्पादकीय
नेपालको चिन्ता नेपालमै बसेर दु:खजिलो गर्नेहरुले मात्र गर्दा पुग्छ । सम्पूर्ण परिवारसहित नेपाल बाहिर बस्ने अनि नेपालको राजनीतिक परिपाटी, सरकार र जनप्रतिनिधिका साथै कर्मचारीको तेजोवाेध हुनेगरी सामाजिक सञ्जालमा अफवाह फैलाउनु कत्ति ठीक काम होला ? विदेशमा बस्ने नेपाली दाजुभाइले एक घण्टा शान्त भएर आफै सोच्नुहोस् त । तपाईँहरुले गरेको काम ठीक हो ? बाहिर बस्दैमा सबै विषयको विज्ञ बन्ने नेपालीको मनोविज्ञान आफैमा गलत छ ।
नेपालको उन्नति र प्रगतिका, नवप्रवर्तनका विषयमा भन्दा देशको राजनीतिक प्रणाली, अदालत, सरकारी संयन्त्र र पत्रकारिता क्षेत्रका विषयमा अनावश्यक सिकायतदेखि बद्नाम गर्ने काम भइरहेको छ । सामाजिक सञ्जालमार्फत् विकासनिर्माण, सरकार र राजनीतिक दलका नेताको बद्नाम गर्ने कार्यले अहिले बसोबास गरेको देश र नेपालकोसमेत हित हुँदैन । राजनीतिक क्षेत्रमा गलत काम भएमा नेपालमै बस्नेले सडकमा नारा लगाउन जानेका छन् । कसैले भ्रस्टाचार गरेमा नेपालमै बसोबास गर्ने सदस्य र समुदायले कारबाही गर्न जानेका छन् । पत्रकारिता क्षेत्रले आफ्नो मर्यादा भुलेर काम गरेमा नेपालमै बसेका पत्रकारिता क्षेत्रका अगुवाहरुले सही बाटो देखाउने नै छन् ।
देशको राजनीतिक, सामाजिक र आर्थिक अवस्थामा कसरी सुधार गर्ने भन्ने विषयमा नेपालमै बसेर दु:ख र हण्डर खाएका व्यक्तिहरुले छलफल र बहस गरेर बाटो पहिल्याउछन् । नेपाल छाेडेर विदेश गएकाहरुले देशको विषयमा भन्दा आफ्नै घरपरिवारलाई कसरी सुखसुविधा दिने भनेर सोचे पुग्छ । विदेशमा बसेर नेपालको राजनीतिक प्रणालीको बद्नाम गर्ने छुट कसैलाई हुनुहुँन्न ।
उद्योगधन्दाको विकास र विस्तारका लागि नेपालको चौतर्फी विकास र सम्बृद्धिका क्षेत्रमा काम गर्ने हो भने विदेशबाट कराउने होइन, नेपाल आएर काम गर्दा फरक पर्दैन । नेपाल फर्किएर जुनसुकै काम गर्न विदेशिएका जोसुकै नेपालीलाई रोकतोक छैन । नेपाल बाहिर बसेर गरेको पत्रकारिताले नेपालको कुन विषयमा सुधार र हित हुन्छ ? नेपाली भाषा बुझ्ने विदेशीले त उल्टै तुच्छ नजरले हेर्छ । विदेशमा बसेर उल्टै अरुको गाली खाने काम किन कसैले गर्ने ? यस्ता विषयमा नियमनकारी निकायले नियमनका साथै विदेशमा बसेर नेपालका व्यक्तिको चरित्रमाथि दाग लगाउने, देशको बद्नाम गर्ने समूह र व्यक्तिलाई पहिचानसहित कारबाही गर्नुपर्छ ।
विदेशमा बसेर नेपालमा नराम्रो असर पुर्याउनु भनेको देश द्रोह गरेको मानिन्छ । देशको उन्नति र प्रगतिका लागि कसैले हल्ला गर्दैमा हुने होइन । देशभित्र वा बाहिर बसेर मिथ्या सूचना र अफवाह फैलाउन कसैले छुट पाउनु हुँन्न ।




