चैत २९ शुक्रबार ।
मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउ गरी काठमाडौँ ल्याइएको छ । उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ।जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर उनलाई चन्द्रगढी विमानस्थल पुर्याइएको थियो ।
जिल्ला प्रहरी कार्यालयबाट विमानस्थलसम्म पुर्याउँदा उनलाई हतकडी लगाइएको थियो ।विमानमा चढाइसकेपछि भने उनको हतकडी खोलिएको थियो । काठमाडौं ओर्लिएपछि पुनः हतकडी लगाइएको थियो ।नेपाल–भारतबीच सुर्पदुगी सन्धि नभएका कारण प्रसाईंलाई असाम प्रहरीले नियन्त्रणमा लिएर बिहीबार नेपाली पक्षलाई बुझाउन सकेको थिएन ।
शुक्रबार भने नेपाल प्रहरीले झापाको नाकाबाट पक्राउ गर्ने गरी वातावरण मिलाइएको हो ।उनीविरुद्ध ज्यान मार्ने उद्योगसहितमा मुद्दा चलाउने प्रहरी तयारी छ । यही चैत १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शनका ‘कमान्डर’ थिए, प्रसाईं । प्रदर्शनक्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो । प्रदर्शनकारीले एक निजी घरमा आगजनी गर्दा जलेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो ।




