२०८१,१२,२६
आज राप्रपाले काठमाण्डौ बल्खुमा विरोध प्रदर्शन तथा रयाली कार्यक्रम गदैृछ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले विभिन्न ठाउँबाट र्याली निकालेर बल्खुमा विरोध कार्यक्रम गर्न लागेको हो । बल्खुमा हुने राप्रपाको प्रदर्शनलाई ध्यान दिँदै ट्राफिक प्रहरीले विभिन्न तीन ठाउँमा डाइभर्सनको व्यवस्था मिलाएको छ । यसअनुसार खसीबजार–मकालु–कलङ्की चोक–बाफलमा डाइभसर्नको एउटा रुट तय गरिएको छ । यस्तै बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक हुँदै टेकुमा अर्को डाइभर्सन मिलाइएको प्रहरीले जनाएको छ । यस्तै कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुनामा अर्को डाइभर्सन तोकिएको छ ।
कार्यक्रममा सहभागी हुन आउनेहरूका लागि टीयू गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक दुवैतर्फ, चोभार सुक्खा बन्दरगाहमा पार्किङको व्यवस्था मिलाइएको छ । नयाँबसपार्क र सीतापाइला–बाफल सडकखण्डमा एक लाइन पार्किङको व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
यस्तै शिक्षक र सहकारी तथा लघुवित्त पीडितहरुले पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । प्रदर्शन हुने ठाउँमा गाडी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरीले आवश्यकता अनुसार डाइभर्सनको व्यवस्था मिलाइएको जनाएको छ ।