फागुन १४ बुधबा।र ।
सुडानको खार्तुमको बाहिरी इलाकामा रहेको एक आवासीय क्षेत्रमा एउटा सैन्य विमान दुर्घटना हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको खार्तुमको राज्य सञ्चालित समाचार संस्थाले जनाएको छ।मंगलबार स्थानीय समय भएको उक्त घटनामा कम्तीमा १० जना घाइते भएका जनाइएको छ।
सेनासम्बद्ध स्वास्थ्य मन्त्रालयले विमानमा सवार १९ जनाको मृत्यु भएको पुष्टि गरेको छ।राजधानीको उत्तरपश्चिममा रहेको ओमदुरमानमा रहेको सेनाको सबैभन्दा ठुलो सैन्य केन्द्र वादी सेडना एयर बेसनजिकै मंगलबार राति एन्टोनोभ विमान दुर्घटनाग्रस्त भएको थियो।सन् २०२३ को अप्रिलदेखि अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज ९आरएसएफ०सँग युद्धरत सेनाले संख्या उल्लेख नगरीकन ‘उडान भर्ने क्रममा विमान दुर्घटना हुँदा सैनिक र सर्वसाधारण दुवैको मृत्यु भएको’ जनाएको छ।
प्रत्यक्षदर्शीहरूले ठुलो विस्फोटको आवाज सुनेको र त्यस क्षेत्रमा थुप्रै घरहरू क्षतिग्रस्त भएको देखेको बताएका छन्। दुर्घटनाका कारण आसपासका क्षेत्रमा पनि विद्युत् आपूर्ति बन्द भएको छ। सेनासमर्थित स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भग्नावशेषमुनि रहेका बाँकी मृत शरीर खोजी कार्य जारी छ।’
आकस्मिक सेवाका कर्मचारीले बालबालिकासहित घाइते सर्वसाधारणलाई नजिकैको अस्पतालमा पुर्याएको मन्त्रालयले जनाएको छ । घटनामा परी कम्तीमा १० जना घाइते भएको बताइएको छ।
एक सैन्य स्रोतका अनुसार दुर्घटनाको पछाडि प्राविधिक खराबी रहेको थियो। ‘विमानमा प्राविधिक खराबीका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी मिलेको छ,’ आफू सञ्चारमाध्यमसँग कुरा गर्ने अख्तियार प्राप्त व्यक्ति नभएकाले नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले एएफपीसँग भने।




