२०८१,१०,१३
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ऐन कानूनमा अल्झिदा समृद्धि र सुशासन कायम गर्न नसकेका बताएका छन्।साथै उनले मन्त्रालयसँग सम्बन्धित सबै ऐन र कानून एक वर्षभित्र संशोधन गरिसक्ने पनि घोषणा गरेका छन्।आइतवार काठमाडौँमा आयोजित ‘एक स्थानीय तह, एक हुलाक’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्। उनले पुराना ऐन र कानूनकै कारणले सञ्चार मन्त्रालयले परिणाम देखिने गरी काम गर्न नसकेको दावी गरे। उनले हुलाक सेवाको सुधारका लागि नयाँ ऐन र नीति नबनाईकन नहुने उल्लेख गर्दै सरकारले हुलाक नीति ल्याउने गरी काम गरिरहेको बताए।
पुराना ऐन र कानूको आफूअनुकूल नियमावली ल्याउँदै प्रयोग गरेको कारणले विभिन्न समयमा दुर्घटना हुने गरेको उनले बताए। सूचना र प्रविधिको क्षेत्रमा विश्वले ठूलो फड्को मारिसक्दा पनि हामी र ऐन र कानूनमा अल्झिदा मुलुकको समृद्धि र सुशासन कायम गर्न नसकिएको उनको भनाइ छ।मन्त्री गुरुङले भने, ‘हामीले किन काम गर्न नसकेको भन्दा खेरी यस्तै पुराना पुराना ऐन र कानूनले गर्दा हो। अब पुराना खुकुरीले लडाइँ लड्न सकिन्छरु ड्रोनको लडाइँ शुरु भइसक्यो। हुलाक नीतिको ड्राफ्ट बनाउन मन्त्रालयमा भनिसकेको छु। नयाँ नीति र नयाँ ऐन नबनाईकन भएन।’
उनले सबै स्थानीय तहमा हुलाक सेवा पुग्नु आफैंमा ठूलो उपलब्धि भएको उल्लेख गर्दै प्रभावकारी ढंगले काम गर्न मातहतका निकायहरूलाई निर्देशन दिए। उनले अबको पाँच वर्षभित्र सबै हुलाक कार्यालयको भौतिक संरचना बनाउने गरी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
उनले हुलाक कार्यालहरूले राजस्व वृद्धिमा ध्यान दिनुपर्ने आग्रह गरे।