माघ ४ शुक्रबार
नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीका माग र समस्यालाई सम्बोधन गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई ज्ञापनपत्र बुझाएको छ । निर्माण कार्य हुने सिजनमा नै सिमेन्ट र डण्डी उद्योगले मूल्यवृद्धि गरेको तथा भुक्तानी अभाव र सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनमा देखिएको म्याद थपसम्बन्धी कानूनी जटिलता हटाउन माग गर्दै मन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएको महासंघका अध्यक्ष रवि सिंहले बताए ।
उनले निर्माण व्यवसायीहरूका माग सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएको समेत बताए ।व्यवसायीका माग सम्बोधन नभए महासंघले यही माघ १८ गते काठमाण्डौको माइतीघर मण्डलामा धर्ना दिने चेतावनी दिएको छ । अध्यक्ष सिंहले त्यसपछि पनि माग सम्बोधन नभए माघ २१ गतेदेखि काठमाण्डौ उपत्यका प्रवेश गर्ने नाका ठप्प पार्ने चेतावनीसमेत दिएका छन ।
ज्ञापनपत्र बुझ्दै यातायातमन्त्री दाहालले सडकमा समस्या नआउने वातावरण तयार पार्ने प्रतिबद्धता व्यक्त गरेका छन । सरकारले बेलैमा व्यवसायीका माग सम्बोधन नगरे राष्ट्रिय गौरवका आयोजनासहित सबै खालका निर्माण कार्य ठप्प पारी आन्दोलन अगाडि बढाउने महासंघले जनाएको छ ।