२०८१,९,२९
विहान उठ्ने वित्तिकै हिमाल देख्न पाइयोस् । यि हात सधैसधै नेपाल लेख्न पाइयोस्‘। । कालिप्रसाद रिजालले कोर्नु भएका शब्द, अलोक श्रीको संगीत र रामकृष्ण ढकालको स्वरका यी गित सुनेर हुर्केका रामेछाप तामाकोशी गाउँपालिकाका प्रकाशराज पाण्डेले घर नजिकैबाट देखिने हिमाल आरोहणको सपना देखे । पाण्डेका परिवारको पेशा हिमाल आरोहण होइन । उनको पारिवारिक प्राय सबै सदस्य नेपाली सेनामा आबद्ध छन् । तर, उनले भने बाटो अलग रोज ।। हिमाल आरोहण ।
साविकको तिल्पुङ गाविसमा रहेको नवदर्शन माविमा कक्षा ४ सम्मको अध्ययन पछि उनी ललितपुरको इमाडोल आए । गाउँको विद्यालयमा अंग्रेजी मा पढाइ हुदैन थियो । अंग्रेजी नभएकैले ललितपुर आएपछि उनी नर्सरीमा भर्ना हुनु प¥यो । अंग्रेजी पढ्नका लागि भाई पर्शुरामराज पाण्डे, शिक्षीका लुना बज्राचार्य र जिमनाथ ढकालको सहयोग पाए । विस्तारै अंग्रेजी सिक्दै जान थालेपछि उनीमा अब म केही गर्छु भनेर आत्मविश्वास आएको उनी सम्झन्छन् । विद्यालयमा स्काउटमा जोडिएपछि भने उनले सानो छदा देखेको हिमाल चढ्ने सपनाको लक्ष्य पहिल्याउन सके । ६ कक्षामा स्काउटमा संलग्न भएपछि हिमाल आरोहणको सपना पूरा गर्ने बाटो खुलेको पाण्डे सम्झन्छन् ।
सगरमाथा चढ्नुअघि लाङटाङको उर्केमा हिमाल चढे । जसलाई सगरमाथा चढ्ने बेस बनाए । सन् २०१६ मा उर्केमा हिमाल चढेपछि पाण्डेमा उत्साह झनै थपियो । उर्केमा हिमालको आरोहणले उर्जा र साहस बढ्दै गयो । उर्केमा हिमालको आरोहण त गरे । अब सगरमाथा कसरी चढ्ने उनमा खुलदुली भयो । सगरमाथा चढ्नका लागि ६ हजार माथिको हिमालको आरोहण नगरी चढ्ने अनुमति हुदैन थियो । त्यसपछि उनले सन् २०१७ मा सोलुखुम्बुमा रहेको ६ हजार १६० मिटर उचाइको आइस ल्याण्ड पिकको सफल आरोहण गरे । सो हिमालको सफल आरोहणपछि सगरमाथा चढ्ने बाटो खुल्यो । सन् २०१८ मा उनी सहित ११ जनाको आरोहण टोलीले सगरमाथाको सफल हिमाल आरोहण गरे । बादलभन्दा माथि उक्लने सपनाहरूको सुमधुर धुनले उनलाई सगरमाथाको चुचुरोमा पु¥यायो ।
उनले हिमाल आरोहणसँगै हिमाली क्षेत्रमा देखिएको जलवायु परिवर्तनले पारेको प्रभावको विषयमा अध्ययन गरिरहेका छन् ।
चनखमन्द मौसम । निरन्तर चलिरहेको हावा । फेटा गुथेर उदाएको सूर्य नजिक आइपुगेको थियो । माथि आखाँ डुलाउँदा चुचुरो आइपुगेछ । म चुचुरोमा पुग्दा खुसीभन्दा बढी अलि भावुक बने । सगरमाथा आरोहणको सपनाले मन गदगद भयो । सबै सुभेच्छुक,साथी, आफन्तजनको तस्बीर रिल घुमेजस्तै फनफनी मस्तिष्कमा आयो । सबैलाई धन्यवाद दिए । त्यो सगरमाथा मेरा लागि सपनाको आरोहण थियो, हिमाल आरोही प्रकाशराज पाण्डेले विगतको आरोहण सम्झदै भने । सगरमाथाको चुचुरोमा पाइला टेकेपछि उनको सपनाको आरोहण पूरा भयो । मन चंगा भयो । त्यसपछि उनमा झनै हिमाल चढ्ने साहस बढेर आयो ।
पछिल्लो समय हिमाल मुलुकको सौन्दर्यको मानक बनेको छ । आम्दानीको आयामसमेत बनेको छ । तर, हिमालको सौन्दर्य आधारशिविरमा पुगेपछिमात्रै अनुमान गर्न सकिन्छ । हिमाल आरोहण साहसिक काममात्रै होइन, यो त सौन्दर्यसँग द्रविभूत हुने कुरा पनि हो । पाण्डेले हिमालमा उनले सौन्दर्य मात्रै देखेका छैनन् । हिमालले सामना गरिरहेको चुनौती पनि देखेका छन् । शुरुमा उनी हिमाल हेर्ने धोको लिएर अघि बढेका थिए । हिमाल हेर्ने भोकले अघि बढ्दै जादाँ पाण्डे सगरमाथाको चुचुरोमा पुग्न सफल भए । उनको लागि सगरमाथा फगत हिमाल मात्रै थिएन अनुभूतिको हिसाबले विश्वविद्यालय बन्यो ।
हिमाल चढेपछि उनले नेपालमा जन्मनुको आनन्द र हिमाल हुनुको गौरव पनि बुझे । सँगै हिमालको पीडा पनि बुझे । जीवनको क्षणभंगुरता महसुस गर्नु र मृत्युको सुनिश्चित पदचाप बरफिलो भीरमा सुसाउँदै बहने हावाहरूमा सुन्नु अनि त्यहाँबाट विजयी भाव बोकेर फर्किनुको जुन आनन्द छ, त्यसैलाई बाँच्नुको पूर्णता मान्छन् प्रकाश । दैनिक बढ्दै गइरहेको तापक्रम बृद्धि र जलवायु परिवर्तनको असरले हिमालको सौन्दर्य र भविष्यको चुनौती पनि देखे । त्यसैको सिलसिलामा हिमाल आरोहणसँगै जलवायु परिवर्तनले हिमाललाई के कस्तो असर गरिरहेछ भन्ने विषयमा अध्ययन पनि अघि बढाएका छन् । तापक्रमबृद्धिसँगै हिमालमा देखा परेको प्रभावका ’दयगतमा थप अध्ययन गर्ने हेतुले उनको सपना अब सात महादेशको हिमाल चढ्ने सपना बोकेर अघि बढेका छन् ।
पछिल्लो समय उनले रुसको माउन्ट एल्ब्रुस हिमाल आरोहण गर्दा उनले रुस र युक्रेनको द्धन्द्धका बीचमा भिसा प्राप्त गर्न भएका जटिलता पनि सम्झिए । भूराजनीतिक जटिलताका बीचमा द्धन्द्धग्रस्त देश रुसमा रहेको हिमाल आरोहण गर्ने लक्ष्यलाई पूरा गर्नका लागि उनले परिवार र विशेषगरी आमालाई सम्झाउन चुनौतिपूर्ण बन्यो । आमालाई सम्झाएपछि उनले हिमाल अरोहण गरे बारबरको खुसी भएको सम्झिए । हिमाल चढ्नु जतिकै थियो उनले आफ्नो आमालाई सम्झाउनु पनि । आमालाई सम्झाएर उनी रुसको एल्ब्रुस हिमाल आरोहणमा निस्के । छोटो समयमा उनले माउन्ट एल्ब्रुस हिमालको सफल आरोहण गरे । हिमाल आरोहणसँगै उनले जलवायु परिवर्तनले एल्ब्रुस हिमाललाई कति असर पुगेको रहेछ नजिकबाट हेर्ने मौका पाए । सात महादेशको हिमाल चढ्ने र त्यहाँको अबस्था बुझ्ने सपना उनले पूरा गर्नका लागि उनले अब आउँदो महिना अर्जेन्टिनाको एकान्गोवा हिमालको आरोहण गर्दैछन् ।
धेरै अवरोधका बाबजुद पनि पाण्डे आफ्नो संकल्पमा कहिल्यै डगमगएनन् । “मैले किलिमन्जारो सहित १० वटा हिमाल आरोहण गरेको छु । मृत्युले मेरो दिमागलाई निराशाको रूपमा पार गरेन, “उनी भन्छन्– मेरो सिद्धान्त सरल छः “कडा परिश्रम गर्नुहोस्, र कहिल्यै हार नमान्नुहोस् । जस्तो नतिजा आए पनि स्वीकार्नुसक्नु पर्छ ।
आफ्नो यात्रालाई फर्केर हेर्दै पाण्डेले आफूले कठिन तरिकाले धेरै पाठ सिकेको बताउँछन् । “बाडेन–पावेल स्काउट पीकको मेरो पहिलो आरोहणको क्रममा, मैले भरियाको जुत्ता उधारो लिनु परेको थियो । म त्यो भरियाप्रति सधैं कृतज्ञ रहनेछु,’ पाण्डे भन्छन् । उनको यात्रा रामेछाप गाउँपालिकादेखि नेपाल स्काउट र स्थानीय व्यवसायीहरुको सामूहिक प्रयासमा भएको हो ।
एक स्काउट सदस्य र रोटरी क्लब सदस्यको रूपमा पाण्डेले नेपाली युवाहरूलाई पर्यटन, योग र धार्मिक भ्रमणहरू अन्वेषण गर्न प्रोत्साहन दिँदै आएका छन् । “आरोहणले युवाहरूमा मानसिक स्वास्थ्य समस्याहरूलाई सम्बोधन गर्न प्रमुख भूमिका खेल्न सक्छ । यो परम्परागत शिक्षाभन्दा बाहिरको उद्देश्य खोज्ने कुरा हो,” पाण्डे भन्छन् । पाण्डे सात महादेशको सात हिमाल आरोहणका लागि उत्साहित छन् । एउटा चुनौती जुन प्रत्येक महाद्वीपको उच्चतम शिखरमा पुग्न आवश्यक छ । उनको अर्को लक्ष्य अर्जेन्टिनाको अकोन्कागुआमा पुग्नु रहेको छ ।