पौष २७ शनिबार
सरकारले विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका ल्याएको छ । गएको मङ्सिरमा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेलगत्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशिका ल्याएको हो ।निर्देशिकामा किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य प्रवर्द्धन गर्ने तथा महिनावारी स्वास्थ्य व्यवस्थापन गर्ने, स्वास्थ्य जीवनशैली अपनाउन प्रेरित गर्ने र आधारभूत स्वास्थ्य तथा पोषण सेवाको पहुँच पुर्याउने उद्देश्य रहेको छ ।
एक हजारसम्म विद्यार्थी सङ्ख्या रहेको विद्यालयले एक जना नर्स राख्नुपर्ने र त्योभन्दा बढी विद्यार्थी सङ्ख्या भएमा थप एक जना नर्स राख्नुपर्ने निर्देशिकामा उल्लेख छ । निर्देशिका अनुसार सामुदायिक र संस्थागत विद्यालयमा विद्यार्थी नै स्वास्थ्य दूत अर्थात हेल्थ एम्बेसडर बन्ने भएका छन् ।विद्यालय स्वास्थ्य कार्यक्रमलाई प्रोत्साहन गर्न नयाँ निर्देशिकामा स्वास्थ्य दूत र स्वास्थ्य प्रवर्द्धनात्मक मापदण्ड थप गरिएको मन्त्रालयले जनाएको छ ।
निर्देशिकाअनुसार विद्यालयले कक्षा ७ वा ८ मा पढ्ने एक छात्र र एक छात्रालाई हेल्थ एम्बेसडर तोक्नुपर्नेछ । विद्यार्थी सङ्ख्या पाँच सयसम्म भए दुई जना र त्योेभन्दा बढी भए विद्यार्थी अनुपातका आधारमा थप्न सकिने निर्देशिकामा उल्लेख छ ।मन्त्रालयका अनुसार हेल्थ एम्बेसडरलाई विद्यालय नर्सको सहकार्य र समन्वयमा बृहत् यौनिकता शिक्षा, पोषण, खोप, किशोर– किशोरीको प्रजनन स्वास्थ्य तथा स्वास्थ्यसम्बन्धी सामग्रीबारे सूचना प्रवाह गर्ने जिम्मेवारी दिइनेछ ।
उनीहरूले विद्यालयको प्रार्थना समय एसेम्ब्ल मा आवश्यकताअनुसार एक मिनेट स्वास्थ्यसम्बन्धी जानकारी दिनुपर्ने, विपद् प्रकोपसम्बन्धी नाटक प्रदर्शनी, हाजिरी–जवाफलगायत सचेतना कार्यक्रम सञ्चालनमा सहयोग गर्र्नुपर्नेछ ।यस्तै विद्यालय पोषण कार्यक्रममा प्रत्यक्ष सहभागी भई कार्यक्रमको योजना बनाउने, हेल्थ क्याम्पमा सहयोग गर्नेजस्ता जिम्मेवारी पनि दिइनेछ । विद्यालयले उनीहरूलाई विभिन्न तालिम तथा कार्यक्रममा सहभागी गराई अभिमुखीकरणमा सहयोग गर्नुपर्नेछ ।