पौष १८ बिहिबार
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शेरा दरबार जग्गा प्रकरणबारे सरकारलाई छानबिन गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरेका छन् । बिहीबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले दोषीलाई कारबाही गर्न र यसका लागि आफू सरकारलाई सहयोग गर्न तयार रहेको स्पष्ट पारेका हुन् ।
उनले शेरा दरबार जग्गा प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न चाहेको खण्डमा सरकारलाई सहयोग गर्न तयार रहेको बताए।प्रचण्डले सरकारको जमिन गैरकानूनी रूपले व्यक्तिको नाममा ल्याउने कार्यमा जो कोही संलग्न भए पनि कानूनको दायरामा ल्याउनुपर्ने उल्लेख गरे । उनले ललिता निवासको सयौं रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइएजस्तै शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याएको खण्डमा सरकारलाई सहयोग मात्र नभई धन्यवाद दिने बताए।
आफू प्रधानमन्त्री हुँदा विभिन्न भ्रष्टाचारसँग सम्बन्धित फाइलहरू खोलेको र कानून मिचेर या कुनै तरिकाले भ्रष्टाचारमा संलग्न देखिने जो कसैलाई पनि छुट दिन नमिल्ने थिति बसाल्न खोजेको भन्दै प्रचण्डले शेरा दरबारको जग्गा हिनामिना भएको भए दोषीलाई छाड्न नहुने बताए ।
नुवाकोटको विदुर नगरपालिका–२ शेरा दरबार र त्यसले चर्चेको १ सय ८४ रोपनी ४ आना १ पैसामध्ये १ सय ६४ रोपनी १३ आना २ दाम जग्गा हिनामिना भएको भन्दै सरकारका नाममा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सरकारलाई पत्राचार गरेको थियो । त्यस्तै सार्वजनिक जग्गा गैरकानूनी रूपमा कम्पनीमा सार्ने समूहमाथि कारबाही गर्न अख्तियारलाई समेत सीआईबीले पत्र लेखिसकेको छ ।