पौष ७ आइतबार
बागमती प्रदेशमा यसवर्ष धानको उत्पादन घटेको छ । गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोले क्षति पुर्याउँदा बागमतीमा धानको उत्पादन एक दशमलव ३७ प्रतिशतले ह्रास आएको बागमती प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । यसवर्ष कुल एक लाख पाँच हजार चार सय १५ हेक्टरमा धानबाली लगाइएकोमा चार लाख आठ हजार तीन सय १६ मेट्रिक टन धान उत्पादन भएको निर्देशानलयका कृषि अर्थविज्ञ नवीन कुँवरले जानकारी दिए ।
पोहोर अर्थात् अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा एक लाख नौ हजार एक सय ५१ हेक्टरमा धानबाली लगाइएकोमा चार लाख १३ हजार नौ सय ८८ मेट्रिक टन उत्पादन भएको थियो । कुँवरका अनुसार गएको वर्षको तुलनामा यसवर्ष चितवन, काठमाण्डौ, ललितपुर, भक्तपुर र नुवाकोटमा धानको उत्पादन बढे पनि बागमती प्रदेशका अरु जिल्लामा घटेको तथ्याङ्क छ ।बागमती प्रदेशको सबैभन्दा धेरै धानखेती हुने चितवनमा यस वर्ष २३ हजार सात सय हेक्टरमा प्रतिहेक्टर चार दशमलव १५ मेट्रिक टनका दरले ९८ हजार तीन सय ५५ मेट्रिक टन धान उत्पादन भएको छ ।
नुवाकोटमा ११ हजार छ सय १५ हेक्टरमा प्रतिहेक्टर चार दशमलव १७ प्रतिशतका दरले ४८ हजार तीन सय ९० मेट्रिक टन, धादिङमा ११ हजार तीन सय १२ हेक्टरमा प्रतिहेक्टर तीन दशमलव ८९ प्रतिशतका दरले ४४ हजार चार मेट्रिक टन उत्पादन भएको छ ।काठमाण्डौमा यसवर्ष चार हजार नौ सय २४ हेक्टरमा प्रतिहेक्टर चार दशमलव ७१ प्रतिशतका दरले २३ हजार एक सय ९२ मेट्रिक टन, ललितपुरमा चार हजार एक सय ७८ हेक्टरमा प्रतिहेक्टर चार दशमलव ५३ प्रतिशतका दरले १८ हजार नौ सय २६ मेट्रिक टन र भक्तपुरमा तीन हजार पाँच सय ९९ हेक्टरमा प्रतिहेक्टर पाँच दशमलव ५१ प्रतिशतका दरले १९ हजार आठ सय २३ मेट्रिक टन धान उत्पादन भएको बागमती प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।
बाढीपहिरोबाट बढी प्रभावित मकवानपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोकलगायत जिल्लामा यसवर्ष धान कम उत्पादन भएको छ । मकवानपुरमा सात हजार १७ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव नौ प्रतिशतका दरले २७ हजार तीन सय ६६ मेट्रिक टन, काभ्रेमा आठ हजार १९ हेक्टरमा प्रतिहेक्टर तीन दशमलव ९१ प्रतिशतका दरले ३१ हजार तीन सय ५४ मेट्रिक टन, रामेछापमा सात हजार आठ सय ८० हेक्टरमा प्रतिहेक्टर दुई दशमलव ५४ प्रतिशतका दरले २० हजार १५ मेट्रिक टन र सिन्धुपाल्चोकमा सात हजार नौ सय हेक्टरमा प्रतिहेक्टर दुई दशमलव ९२ प्रतिशतका दरले २३ हजार ६८ मेट्रिक टन धान उत्पादन भएको हो ।
दोलखामा दुई हजार आठ सय ७२ हेक्टरमा प्रतिहेक्टर दुई दशमलव ५० प्रतिशतका दरले सात हजार ६८ मेट्रिक टन र रसुवामा एक हजार ९९ हेक्टरमा प्रतिहेक्टर दुई दशमलव २३ प्रतिशतका दरले दुई हजार चार सय ५१ मेट्रिक टन धान उत्पादन भएको कृषि विज्ञ कुँवरले जानकारी दिए ।बाढीपहिरोले ३७ हजार हेक्टरमा लगाइएको पाँच हजार छ सय मेट्रिक टन धानबालीमा क्षति पुगेको छ । समयमा वर्षा र यसवर्ष रोगकीराको प्रकोप कम भएकाले धानको उत्पादन बढ्ने अनुमान गरिएपनि बाढीपहिरोले क्षति पुर्याएपछि उत्पादन घटेको हो ।