२०८१,९,५
परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुट चाहेको बताएकी छन्। भारतको नयाँ दिल्लीमा शुक्रवार आयोजित भारत नेपाल आर्थिक सम्मेलन ९इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स० लाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मन्त्री डा। राणाले नेपालले भारतबाट थप हवाई रुटको अपेक्षा गरिरहेको बताएकी हुन्।
“हामीले नेपालका पोखरा र लुम्बिनीमा दुई अन्तरराष्ट्रिय विमानस्थल बनाएका छौँ। ती दुवै संसारकै लोकप्रिय शहर हुन्। पोखरा पर्यटन नगरी हो भने लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थल हो‚’ उनले भनिन्, ‘ती विमानस्थलबाट हामी पर्यटनमात्र नभएर समग्र सम्पर्क विस्तार पनि गर्न चाहन्छौँ। त्यसैले नेपालले यी दुई विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि पनि थप हवाई रुट चाहेको छ।”
ती विमानस्थल महँगोमा निर्माण गरेकाले पूर्ण रुपमा सफल बनाउन पनि नेपालले छिमेकीसँग सहयोग मागिरहेको बताउँदै उनले भारतीय एयरलाइन्सहरुलाई नेपालमा थप उडानका लागि आग्रह गरिन्।
उनले भारतका निजी एयरलाइन्सहरुलाई नेपालमा उडानका लागि आग्रह गर्दै नेपालले यसका लागि धेरैभन्दा धेरै सहुलियत प्रदान गर्ने जानकारी पनि गराइन्।
यी विमानस्थलहरुको सञ्चालनमार्फत दुई देशबीच पर्यटन प्रवर्द्धन हुनुका साथै दुवै देशका जनताबीचको सम्पर्क र सम्बन्ध अझ विस्तार गर्ने मन्त्री डा। राणाले बताइन्।
नेपाल र भारतका धार्मिक र सांस्कृतिक पर्यटनको सम्भावनाबारे चर्चा गर्दै उनले रामायण सर्किट र बुद्ध सर्किटजस्ता संयुक्त पहललाई प्रभावकारी प्रवर्द्धन गरेर दुवै देशले पर्यटनबाट पारस्परिक लाभ लिनसक्ने र यसका लागि संयुक्त सहकार्य आवश्यक पर्ने धारणा राखिन्।
सम्मेलनमा मन्त्री डा। राणाले नेपालमा लगानी गर्न भारतीय लगानीकर्ताहरुलाई आग्रह पनि गरिन्। भारत नेपालमा सबैभन्दा ठूलो लगानी गर्ने राष्ट्र हो भन्दै उनले भारतीय निजी क्षेत्र र उद्यमीहरूलाई नेपालमा रहेका लगानीका प्रशस्त सम्भावना र अवसरहरूबाट लाभ लिन आग्रह गरिन्।
हालैमात्र नेपालले क्रेडिट रेटिङमा ‘वीवी माइनस’ पाउन सफल भएबाट नेपालमा लगानीमैत्री वातावरण छ भन्ने देखिएको स्पष्ट गर्दै उनले नेपालले लगानीको वातावरण सुधार गर्न नीतिहरू पुनः संरचना गरेको र धेरै कानुनहरू लागू पनि गरेको जानकारी दिइन्।
“हामी यथासम्भव धेरै सम्भावित देशहरूसँग द्विपक्षीय लगानी सम्झौता गर्न तयार छौँ। नेपालले संस्थागत कर, आयात शुल्क र निर्यात प्रोत्साहनको हिसाबले आकर्षक प्रोत्साहन प्याकेजहरू प्रदान गर्छ‚’ उनले भनिन्‚ ‘हामी लगानीबाट हुने आयलाई स्वदेश फिर्तीको पनि ग्यारेन्टी गर्छौँ। त्यसैले नेपालको लगानीका सम्भावनाबाट विश्वका सबै लगानीकर्ता लाभान्वित हुन सक्छन्।”
औपचारिक रुपमा गरिएका आर्थिक सहकार्यबाटै पछिल्लो समय सीमापारका ठूला पूर्वाधार रेल सम्पर्क, पेट्रोलियम पाइपलाइन, विद्युत् प्रशारण लाइन, सडक, मोटर चल्ने पुलहरू लगायतका पूर्वाधार निर्माण भएका उनले बताइन्।
मन्त्री डा। राणाले गैरशुल्क अवरोधहरू हटाउने, सीमामा हुने व्यापारलाई सहज बनाउने, परस्पर लाभमा आधारित सम्झौताहरुको कार्यान्वयन गर्ने तथा नयाँ क्षेत्रमा नीतिगत नेतृत्व गर्ने, व्यापारसम्बन्धी पूर्वाधारहरुको निर्माण र सुधार गर्ने र भारतले नेपालबाट हुने आयातलाई सहजता प्रदान गर्न सकेमा व्यापार सन्तुलनमा सहयोग पुग्ने पनि बताइन्।
उनले पछिल्लो समय सीमापार विद्युत् व्यापारमा अभूतपूर्व प्रगति भएको बताउँदै यसको शुरुवात सन् २०२२ अप्रिलमा नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र देउवाबीच भएको ऐतिहासिक सम्झौताबाट भएको स्मरण पनि गरिन्।
सोही सम्झौताको आधारमा १० वर्षभित्र नेपालबाट भारतलाई १० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्यको शुरुआत भइसकेको उनले बताइन्।
उनले नेपाल(भारत सम्बन्ध साझा सामाजिक–संस्कृतिक मूल्य र धरोहरमा आधारित रहेको बताइन्। नेपाल र भारत सबैभन्दा नजिकका मित्र राष्ट्र रहेका र सांस्कृतिक एकता र आर्थिक सम्बन्धले यी दुई देशको आपसी सम्बधलाई थप बलियो बनाएको उनको भनाई थियो।
भारतले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, संस्थागत निर्माण र नेपालको औद्योगिकीकरणमा पुर्याउँदै आएको सहयोगले दुवै देशबीचको सम्बन्धलाई थप बलियो बनाएको पनि उनले बताइन्।
नेपाल सन् २०२६ मा अल्पविकसितबाट विकासोन्मुख राष्ट्रका रुपमा स्तरोन्नति हुन लागेकाले आफ्ना सबैभन्दा नजिकका छिमेकीहरूबाट पनि निरन्तर सहगोग, समर्थन र सदभाव चाहेको उनले बताइन्।
उनले बिमस्टेक, बिबिआइएन, सार्कजस्ता मञ्चहरूलाई आर्थिक एकताका लागि अझ सुदृढ बनाउन र द्विपक्षीय आर्थिक सहकार्यमा पूर्णता दिन आवश्यक रहेको भनाइ पनि राखिन्।