सत्यराज घिमिरे । ३१ जेठ, काठमाडौं । दोश्रो चरणको निर्वाचनका लागि उम्मेदवारहरुको मनोनयनको मिति नजिकिएसँगै पार्टी परित्याग गरी अर्को पार्टीमा प्रवेश गर्नेहरुको लामै ताँती लागेको छ । कामको मुल्यांकन नभएको, उचित स्थान नपाएको वा पार्टीको कार्यशैली मन नपरेको जस्ता कारणहरु पेश गर्दै नेता र कार्यकर्ताहरु एकबाट अर्को पार्टी प्रवेश र परित्याग गरिरहेका छन् । पहुँचवाला व्यक्तिहरुले पार्टी प्रवेश गर्दा त्यस्ता व्यक्तिबाट मत खरीद हुनसक्ने संभावना समेत उत्तिकै देखिएको छ ।
राजनितिक दलको अदुरदर्शीता र असक्षमताको कारण फरक क्षेत्रका व्यक्तिहरु राजनीतिमा आइरहेको नव प्रवेशीहरुको बुझाई छ । धेरै पटक राजनीतिक व्यक्तिलाई जिताएर पठाएका नागरिकले बदलामा केहि नपाएका कारण फरक क्षेत्रका व्यक्तिले नयाँ पुस्ताको आवश्यक्ता र चाहानालाई परिपुर्ति गर्न राजनीतिमा आउनुपरेको भर्खरै संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्दै वीरगंज महानगरको मेयरको उम्मेदवार बन्नुभएका उद्योगी विजय सरावगी बताउनु हुन्छ ।
सधैं पार्टीको अनुशासनमा बसेर काम गरेका ईमान्दार कार्यकर्तालाई पहुँचवाला व्यक्तिहरुको प्रवेशका कारण समस्या भएको छ । तर, पढेलेखेका र अनुभव भएका व्यक्तिहरुको प्रवेशले राजनीतिक दलहलाई फाइदा पनि हुने तर्क भरखरै मात्र नेकपा एमालेमा प्रवेश गरी वीरगंज महानगरको मेयरको उम्मेदवार बन्नुभएका बसरुद्दिन अंसारी बताउनु हुन्छ ।
अहिले तराइमा क्रियाशील विभिन्न पार्टीहरुमा नवप्रवेशी व्यक्तिहरुले उम्मेदवारको टिकट पाइरहेका छन । नवप्रवेशीले टिकट पाउँदा पार्टी पुर्णकालीन सदस्य र पुराना कार्यकर्ताहरु समस्यामा परेका छन । तरm पनि नगर तथा गाउँपालिका चलाउन केही व्यवस्थापकीय ज्ञान, चाहिने र निर्वाचन पनि जित्नु पर्ने भएकाले तराइ क्षेत्रमा प्रभावशाली र पहुँचवाला नवप्रवेशीहरुले अवसर पाइरहेको अवस्था छ ।




