काठमाडौं, १६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन ।प्रधानमन्त्री देउवाले आज लैनचौरस्थित शहीद स्मारकमा पुगी शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन । मन्त्री, संवैधानिक निकायका पदाधिकारी र सरकारका उच्च अधिकृतले पनि शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरे ।
शहीद स्मारकमा श्रद्धाञ्जली अर्पणअघि रत्नपार्कबाट प्रभातफेरी निकालिएको थियो ।काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा गठित शहीद सप्ताह मूल समारोह समितिले प्रभातफेरी निकालेको हो । प्रभातफेरीमा प्रधानमन्त्री देउवा, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षाकर्मी लगायत उपस्थित थिए ।
शहीदको सम्मानमा सुरक्षा निकायको टोलीले ब्याण्डबाजा बजाएको थियो ।प्रजातन्त्र स्थापनाका लागि जीवन अर्पण गरेका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको सम्झनामा २०१२ सालदेखि शहीद दिवस मनाउने गरिएको हो ।