काठमाडौं,२० चैत्र । पाकिस्तानको उच्च अदालतले तोशाखाना मामिलामा पूर्वप्रधानमन्त्री इमरान खान र उहाँकी श्रीमती बुशरा बीबीलाई दिइएको १४ वर्षको सजाय निलम्बन गरेको छ । इमरान खान र उहाँकी श्रीमती बुशराले एकाउन्टेबिलिटी कोर्र्टबाट तोशाखाना मामिलामा सुनाइएको सजायविरुद्ध दिएको अपिलमा सुनुवाइ गर्दै इस्लामाबाद उच्च अदालतले सजाय निलम्बन गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
मुख्य न्यायाधीश आमिर फारुक र न्यायाधीश मियाँ गुल हसनको दुई सदस्यीय इजलासले एकाउन्टेबिलिटी कोर्र्टको सजाय निलम्बन गरेको हो । अदालतले तोशाखाना मामिलामा सजाय निलम्बित गरे पनि इमरान खान तत्काल जेलबाट बाहिर आउन पाउनुहुने छैन । उहाँमाथि अन्य केही मुद्दा पनि चलिरहेको छ ।
प्रधानमन्त्री, राष्ट्रपति, राज्य प्रमुख, मन्त्री, सांसदसहित वरिष्ठ अधिकारीहरूले भ्रमणका क्रममा प्राप्त गरेका बहुमूल्य उपहारहरू राख्नका लागि पाकिस्तानमा सन् १९४७ मा तोशाखाना स्थापना भएको छ । यो मन्त्रिपरिषद्को प्रशासनिक मातहतको एक विभाग हो । पूर्वक्रिकेटरसमेत रहेका ७१ वर्षीय इमरान खानले राज्यका उपहारहरू बिक्री गर्दा आफूलाई प्राप्त भएको आम्दानी घोषणा नगरेको भन्दै इस्लामाबाद अदालतले दोषी ठहर गरेको थियो ।