काठमाडौं,१८ चैत्र । तल्लो क्रमका ब्याटरको साथ पाउन नसक्दा नेपाल ‘ए’ ले शनिवार आयरल्याण्ड ‘ए’ सँगको दोस्रो ट्वान्टी–२० क्रिकेट पनि गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दोस्रो खेलमा पनि ४० रनको हार व्यहोरेपछि नेपाल ‘ए’ ले एक खेल अगावै पाहुना टोलीसँगको श्रृंखला गुमाएको हो । तीन खेलको श्रृंखलामा नेपाल ‘ए’ २–० ले पछि परेको हो ।
पहिलो खेलमा पनि तल्लो क्रमका ब्याटरले साथ नदिँदा नेपालले २१ रनको हार व्यहोर्नुपरेको थियो । नेपालले लगातार दोस्रो दिन विशाल लक्ष्य सामना ग¥यो । उत्कृष्ट शुरुवातका बाबजुद लक्ष्य भेट्टाउन भने सकेन । आयरल्याण्ड ‘ए’ ले दिएको २२५ रनको लक्ष्य पछ्याएको नेपाल १७.५ ओभरमै १८४ रनमा समेटियो ।
नेपालले ७.३ ओभरमा नै सय रन जोड्दै बलियो शुरुवात ग¥यो । तर सो लय जारी राख्न भने सकेन । ओपनर देव खनालको ४७ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । उनले २५ बलमा सात चौका प्रहार गरे । पहिलो विकेटका लागि देव र लोकेश बमले ४७ रनको साझेदारी गरे । अघिल्लो खेलमा शतक बनाएका लोकश २५ रनमा आउट हुन पुगे । बसिर अहमदले २७ रन, कप्तान विनोद भण्डारीले २६ रन, कमलसिंह ऐरीले ११ र पवन सराफले १० रन जोडे पनि पर्याप्त भएन ।
आयरल्याण्ड ‘ए’ को बलिङमा बेन ह्वाइटले तीन, फिओन हान्ड र थोमस मायसले समान दुई विकेट लिए । म्याथ्यु फोस्टर र गारेथ डोलानीले समान एक विकेट लिँदै नेपालको जित रोके । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रनको योगफल बनायो । कप्तान निल रकले नटआउट ७१ रन र पिटर मोरले ६५ रन जोडेपछि आयरल्याण्ड ‘ए’ ले चुनौतीपूर्ण लक्ष्य बनायो । निलले ३४ बलमा सात छक्का र एक चौका हिर्काए ।
पिटर मोरले २६ बलमा सात छक्का र तीन चौका हिर्काए । नीलले सातौं विकेटका लागि हान्डसँग ६७ रन र पाँचौं विकेटका लागि मोरसँग ६१ रनको साझेदारी गरे । जेम्स म्याकोलुमले २६, रोस अदैरले १७ र गेराथ डेलानीले १० रन जोड्दा हान्ड १९ रनमा नटआउट रहे । नेपालको बलिङमा सागर ढकालले तीन विकेट लिँदा कमलसिंह ऐरी र पवन सर्राफले समान एक विकेट निकाले । नेपालले सोमवार तेस्रो तथा अन्तिम खेल खेल्नेछ ।