१३ चैत नेपाली राष्ट्रिय फुटबल टोलीले आज फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटको दोस्रो चरणमा घरेलु टोली बहराइनको सामना गर्नेछ । खेल नेपाली समयअनुसार राती १२ः४५ बजे सुरु हुनेछ ।
दशरथ रंगशालाको मैदान खेल्न उपयुक्त नभएपछि दुवै लेग बहराइनमा हुँदैछ । नेपाल पहिलो खेलमा ५–० ले पराजित भएको थियो । पहिलो खेलमा घाइते भएका अन्जन विष्टले आजको खेल गुमाउने छन् ।
समूह ‘एच’ मा ३ खेल खेलिसके पनि नेपाल अंकविहीन छ । समूहमा नेपाल,बहराइनसहित यमन र संयुक्त अरब इमिरेट्स (युएई) छन् । नेपालले यसअघि युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो ।
बहराइनले ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । युएईसँग २–० ले पराजित बहराइनले यमनमाथि २–० को जित निकालेको थियो । यमन ३ अंक सहित तेस्रो छ । शीर्ष स्थानमा रहेको युएईको ९ अंक छ ।
मलेसिया एउटा मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली बहराइन पुगेको थियो । मलेसियामा १० जना र राष्ट्रिय खेलकुद परिषदले स्वीकृती नदिएपनि एन्फाले ८ जनालाई बहराइन पठाएको छ ।