११ औँ महाधिवेशनमा १० लाख पार्टी सदस्य बनाउने एमालेको घोषणा | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

११ औँ महाधिवेशनमा १० लाख पार्टी सदस्य बनाउने एमालेको घोषणा

काठमाडौं,५ चैत्र । नेकपा एमालेले आगामी ११ औँ महाधिवेशनसम्म १० लाख पार्टी सदस्य बनाउने योजना अघि सारेको छ । हाल साढे पाँच लाख हाराहारी पार्टी सदस्य रहेको भनिरहेको एमालेले अबको ३ वर्षमा साढे चार लाख पार्टी सदस्य सङ्ख्या बढाउने गरी सदस्यता वितरण र नवीकरण गर्न एमालेले पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ ।

तर सदस्यता नवीकरण गर्दा कसैले एकमुष्ट शुल्क लेबी तिरिदिने, सदस्यहरूको सूचीमा हेराफेरी गर्ने लगायतका अनुचित तरिका गरेको पाइए कारबाही गर्ने चेतावनी समेत दिएको छ । त्यसका लागि एमालेले सातै प्रदेश र ७७ वटै जिल्लामा पार्टी सदस्यता नवीकरण, विस्तार र स्थानीय अधिवेशनहरू सुव्यवस्थित ढङ्गले समयमै गर्न परिपत्र जारी गरेको छ ।

महासचिव शङ्कर पोखरेलले हस्ताक्षर गरेर सातै प्रदेश र जिल्ला कमिटीहरूलाई पठाएको परिपत्रमा फागुन–चैतमा गरिने नियमित सदस्यता नवीकरणबारे पार्टीपंक्ति अझै अभ्यस्त नभइसकेको भन्दै तोकिएको प्रक्रिया पुरा गरी तोकिएको समयभित्र सदस्यता नवीकरण गर्न र योग्यता पुगेकाहरूलाई नयाँ सदस्यता दिने प्रक्रिया अघि बढाउन भनिएको छ ।

साथै एमालेले आउँदो जेठ मसान्तभित्र सबै स्थानीय पार्टी कमिटीका अधिवेशनहरू सम्पन्न गर्न भनेको छ । एमालेको परिपत्रमा सदस्यता नवीकरणबारे १९ बुँदे निर्देशन दिइएको छ । ‘ २०८१ सालको निमित्त यही फागुन–चैत महिनामा भइरहेको/हुने पार्टी सदस्यता नवीकरण कार्यमा विगतमा भएका कमीहरू दोहोरिन नदिई चैत मसान्तभित्र जसरी पनि सम्पन्न गर्न प्रदेश कमिटी र जिल्ला कमिटीले मातहतको पार्टी पंक्तिलाई गम्भीरतापूर्वक निरन्तर सचेत पारिरहनुपर्ने पनि एमालेको परिपत्रमा उल्लेख छ ।
एमालेले सदस्य हुनका लागि पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिलाई मान्नुपर्ने, कमिटीमा संगठित भएर जिम्मेवारी बहन गर्नुपर्ने र आर्थिक दायित्व पुरा गर्नुपर्ने लेनिनले भनेका तीनवटा सर्त मान्नुपर्ने जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);