फागुन २८,सरकारले दिने ‘स्टार्टअप उद्यम कर्जा’का निम्ति करिब साढे १६ सय जनाको आवेदन परेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गएको माघ १९ गते कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न गरेको आह्वानमा साढे १६ सय जनाको आवेदन परेको हो ।
तोकिएको २१ दिनको समयमा करिब एक हजार ६५८ प्रस्ताव पेस भएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ ।
यीमध्ये छनोटमा परेका उद्यमीले तीन प्रतिशत ब्याजदरमा पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्ने छन् । सरकारलाई उक्त कर्जाको भुक्तानी दुई वर्षपछि गर्नुपर्नेछ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको े प्रतिष्ठानले आवेदन परेका मध्ये करिब १०० देखि १५० कम्पनी
वा उद्यमीले कर्जा पाउन सक्ने जनाएको छ ।
प्रतिष्ठानले अब चुक्ता पुँजी तोकिएभन्दा बढी भएकालगायत मापदण्डबाहिरका कम्पनी छानेर हटाउनेछ । त्यसरी पहिलो चरणको ‘सर्टलिस्ट’ गरिन्छ
। थप विषय हेरेर दोस्रो चरणको सर्टलिस्ट पनि गरिने योजना छ । दोस्रो चरणको सर्टलिस्टमा परेका उद्यमीलाई परियोजनाको प्रस्तुतिकरणका निम्ति बोलाइनेछ । मूल्यांकन समितिले प्रस्तुतिकरण र परियोजनाको मूल्यांकन गर्नेछ ।
त्यसपछि छनोटको सम्भावना भएको कम्पनी कालोसूचीमा
रहे÷नहेको र अरू बैंकिङ प्रक्रिया हेरिनेछ ।
सबै विषय स्पष्ट भएपछि कर्जा प्राप्त गर्न सक्ने उद्यमी समितिले सिफारिस गर्नेछ सरकारले स्टार्टअप उद्यम कर्जाका निम्ति २५ करोड रुपैयाँ छुट्टयाइएको छ । त्यसको करिब २५ प्रतिशत रकम कर्जा सुरक्षण कोषका लागि छुट्टयाइने छ ।
बाँकी करिब १८ करोड रकम पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म मूल्यांकनानुसार कम्पनीहरूले प्राप्त गर्नेछन् ।०००