काठमाडौं,२८ फागुन । सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नारायण दाहाल राष्ट्रिय सभा अध्यक्षको उमेदवार हुनुहुने भएको छ । आईतवार बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले सत्ता गठबन्धनको तर्फबाट प्रधानमन्त्री प्रचण्डका भाइ नारायण दाहाललाई संयुक्त उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बैठकमा झक्कु सुवेदी, उर्मिला अर्याल लगायतको नाम पनि चर्चा भएपनि दाहलको नामा टुंगो लागेको हो । २०७८ सालमा राष्ट्रिपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य दाहालको कार्यकाल चार वर्षको छ ।
चितवन स्थायी ठेगाना भएका दाहाल २०३१ सालदेखि राजनीतिक दलमा सक्रिय रहेको संघीय संसद् सचिवालयले प्रकाशित गरेको ’संघीय संसद् सदस्य विवरण, २०८०’ पुस्तकमा उल्लेख छ । त्यसअघि २०२७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय दाहाल ०५७ सालदेखि माओवादी केन्द्रीय सदस्य हुनुहुन्छ । माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा दाहाल अन्तरिम व्यवस्थापिका संसद् सदस्य हुनु भएको थियो ।
०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा दाहाल चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।