एजेन्सी, १३ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अमेरिका फस्ट नीतिका कारण अमेरिका एक्लो नहुने बताएका छन् ।
स्वीट्जरल्याण्डको डाभोसमा सुरु विश्व आर्थिक मञ्चको सम्मेलनमा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिका फस्ट अभियानले अमेरिकी अर्थतन्त्र मजबुत हुने दाबी समेत गरे । अमेरिकाभित्र रोजगारीका अवसरको प्राथमिकता अमेरिकी जनताले नै पाउनुपर्ने ट्रम्पको भनाई छ ।
ट्रम्पले त्यही कारण आफुले अमेरिका फस्ट नारा ल्याएको भन्दै रोजगारी र व्यापार सबैमा अमेरिका पहिलो हुने बताए । ट्रम्पले अघि सारेको अमेरिका फस्ट नीति अमेरिकामुखी रहेको भन्दै आलोचना भइरहेका बेला ट्रम्पको यस्तो भनाई आएको हो ।
ट्रम्पले आप्रवासी समस्या समाधानका लागि आफु युरोपीयन राष्ट्रहरुसँग सहकार्य गर्न तयार रहेको बताए । पछिल्लो १८ वर्षमा विश्व आर्थिक मञ्चको सम्मेलनमा सहभागी हुने ट्रम्प नै पहिलो अमेरिकी राष्ट्रपति हुन् ।