काठमाडौं,१४ फागुन । एशियाली क्रिकेट काउन्सिल एसीसीले एसीसी पुरुष प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ । एसीसीले सार्वजनिक गरेको तालिकाअनुसार साविक विजेता नेपालले पहिलो खेल मलेशियासँग अप्रिल १२ मा खेल्नेछ।
अप्रिल १२ देखि अप्रिल २१ तारिखसम्म ओमानमा आयोजना हुने प्रतियोगितामा १० टोली सहभागी हुने छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, मलेशिया, हङकङ‚ कतार र साउदी अरेबिया छन् । समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स यूएई छन् ।
नेपालले समूहको दोस्रो खेल अप्रिल १३ तारिख कतारसँग, तेस्रो खेल अप्रिल १५ तारिख हङकङ र चौथो तथा अन्तिम खेल अप्रिल १७ तारिखमा साउदी अरेबियासँग खेल्नेछ । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्। सेमिफाइनलमा पराजित हुने टोलीले तेस्रो स्थानका लागि खेल्ने छन् । फाइनल विजेता टोलीले सन् २०२५ मा हुने एसिया कप खेल्नेछ ।