काठमाडौं, ११ माघ । नेपालको खाद्य सहायता कार्यक्रम कार्यान्वयन गर्न जापानले ३२ करोड ४८ लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ ।नेपाल र जापानबीच विहिबार आर्थिक सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी र नेपालका लागि जापानका राजदुत मासासी ओगावाले हस्ताक्षर गरे ।
सम्झौता अनुसार खाद्यान्न अभाव हुने नेपालका दुर्गम क्षेत्रमा खाद्य सुरक्षा सुनिश्चित गर्न तथा भूकम्प, बाढीजस्ता दैवी विपत्तिका बेला खाद्यान्न अभाव हुन नदिन जापान सरकारले अनुदान दिने भएको हो ।





