सिँचाइ आयोजनाको १८ वर्ष पुगिसक्दा लक्ष्य अनुरुप प्रगति भएन | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सिँचाइ आयोजनाको १८ वर्ष पुगिसक्दा लक्ष्य अनुरुप प्रगति भएन

काठमाडौं,१२ माघ । बाँके जिल्लाको ४२ हजार ७ सय ६६ हेक्टर भूमिमा भरपर्दो सिँचाइ पु¥याउने लक्ष्यसहित २०६२ मा सुरु भएको सिक्टा सिँचाइ आयोजनाले १८ वर्ष पुगिसक्दा पनि लक्ष्य अनुरुप प्रगति हासिल गर्न सकेको छैन । सुरुमा अनुमानित लागत १२ अर्ब ८० करोड रुपैयाँ तोकिएको यस आयोजनाको तीन पटक म्याद थप भइसकेको छ ।

अहिले यसको अनुमानित लागत ५२ अर्ब ८९ करोड रुपैयाँ पु¥याइएको छ । अन्तिम पटक २०७९ भदौ २६ गते म्याद थप गरेर सम्पन्न हुने मिति आर्थिक वर्ष २०८९÷०९० सम्म पु¥याइएको छ । हालसम्म यस आयोजनामा २० अर्ब २४ करोड रुपैयाँ खर्च भइसकेको छ । आयोजनाको पछिल्लो विवरण अनुसार अहिले २१ हजार २०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । बाँकी २१ हजार ५६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउन काम भइरहेको आयोजनाले जनाएको छ ।

हालसम्म यस आयोजनाले पुलसहित ३१७ मिटर ब्ययारेज सम्पन्न गरेको छ । त्यस्तै ४५ दशमलब २५ किलोमिटर लामो पश्चिम मूल नहर सम्पन गरेको आयोजनाले जनाएको छ । शाखा नहर विस्तारको कार्य तीव्ररुपमा भइरहेको हुँदा नहरका लागि आवश्यक जग्गाको मुआब्जा वितरणका लागि बजेट अभाव देखिएको छ । राष्ट्रिय गौरवको आयोजना भए पनि स्वीकृत गुरुयोजना विपरीत अत्यन्त न्यून बजेट विनियोजन हुने गरेको आयोजनाको गुनासो छ ।

पश्चिम मूल नहरको मर्मत गरी निर्वाध रुपमा पानी सञ्चालन गर्ने चुनौती थपिएको छ भने नहर मर्मतका लागि छुट्टै बजेट आवश्यक रहेको आयोजनाको भनाइ छ । राष्ट्रिय निकुञ्जभित्र कार्य गर्नुपर्दा प्रचलित नियम र निर्माण सामग्रीको सहज प्रयोगमा समस्या हुने गरेको आयोजनाले जनाएको छ । नहरमा अतिक्रमण बढेको, सिँचित क्षेत्रमा बढ्दो सहरीकरण र अदालतमा विचाराधीन मुद्दा र मध्यस्थताको प्रक्रियामा रहेका विषयहरु टुङ्गो नलाग्दा नहर मर्मत र आगामी प्रक्रिया अगाडि बढाउन समस्या भइरहेको आयोजनाको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);