प्रथम इलाम गोल्डकपः टाइब्रेकर मार्फत पाँचथर सेमीफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

प्रथम इलाम गोल्डकपः टाइब्रेकर मार्फत पाँचथर सेमीफाइनलमा

टीका खतिवडा ||
इलाम, ९ माघ ||
प्रथम इलाम गोल्डकपमा अन्तर्गत आज भएको खेलमा पाँचथर फुटबल क्लबल सेमिफाइनल प्रवेश गरेको छ । इलाममा जारी प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटर फाइनल खेलमा बुटवल फुटबल क्लब लुम्बिनीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै पाँचथरले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
निर्धारित समयमा दुवै टिमबाट २–२ गोलको बराबरी भएपछि भएको थियो । सोझै आयोजकले टाइब्रेकरको आधारमा नतिजा लिएको थियो । टाइब्रेकरमा पाँचथरका अशोक खवास, सुनिल खड्का, मञ्जिल खड्का र रोमन भुजेलले जाली चुमाए । सिमान्त थापाको प्रहार बुटवलका गोलकिपर मोहम्मद मोस्सीले बचाउ गरेपनि जितका लागि पर्याप्त भएन ।
बुटवलका चन्दन दास, विकास लामा र विदेशी खेलाडी मार्टिनले गोल गरे । जनक कोइरालाको प्रहार पाँचथरका गोलकिपर रोशन नेपालले बचाउ गरे भने अनिल महर्जनको प्रहार बाहिरिएको थियो ।
खेलको पाँचौ मिनेटमा नै पाँचथरका कप्तान रोशन आङदेम्बेले हेडमार्फत पहिलो गोल गरेर अग्रता लिएपनि ३५ औं मिनेटमा बुटवलका तर्फबाट विदेशी खेलाडी स्टेफेन न्यामले गोल गरी बराबरीमा ल्याए । ३८ औं मिनेटमा पुनः पाँचथरका सिमान्त थापाले गोल गरी अग्रता दिलाए । पाँचथरले पाएको कर्नरको अवसरलाई सदुपयोग गर्दै थापाले जाली चुमाए ।
पहिलो हाफमा १ गोल अन्तरले पछि परेको बुटवलले दोस्रो हाफमा खेल सुधार गर्दै ५१ औं मिनेटमा बराबरीमा ल्यायो । पाँचथरका खेलाडीले पाउल बनाएपछि पाएको फ्रिकिकको अवसलाई सदुपयोग गर्दै बुटवलका विदेशी खेलाडी मार्टिनले गोल गरे ।
जितसँगै पाँचथरले अब फाइनल प्रवेशका लागि विहीबार हुने दोस्रो सेमिफाइनलमा बिर्तामोड युनाइटेड क्लब झापासँगको भेट पक्का गरेको हो ।
खेलको म्यान अफ द म्याच विजेता टिम पाँचथरका कप्तान रोशन आङदेम्बे घोषित हुँदै नगद पाच हजार प्राप्त गरे ।
बुधबार पहिलो सेमिफाइनल खेलमा आयोजक रेडहर्ष फुटबल क्लब इलाम र न्युरोड टिम (एनआरटी) बीच फाइनल प्रवेशका लागि प्रतिष्पर्धा हुनेछ ।

Leave a Reply