मुलुकको सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब पुग्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

मुलुकको सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब पुग्यो

काठमाडौं,९ माघ । गत असार मसान्तसम्ममा २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ मात्र सार्वजनिक ऋण रहेकामा पुससम्ममा आइपुग्दा सो ऋण २३ खर्ब ८४ अर्ब ४८ करोड पुगेको छ । मंसिरसम्म मात्र पनि २३ खर्ब ७१ अर्ब २५ करोड रहेकामा पुससम्म आइपुग्दा ११ अर्बले कर्जा बढेको हो ।

जनसंख्यालाई आधार मान्दा ८१ हजार ७ सय ऋणभार

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो ६ महिनामा मात्रै ७७ अर्ब ४५ करोेड रुपैयाँ सार्वजनिक ऋण थपिएको छ ।

कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्म प्रतिव्यक्ति ऋण हिस्सा ८१ हजार ७ सय ५९ रुपैयाँ पुगेको छ । यस अवधिसम्मको कुल सार्वजनिक ऋणलाई नेपालको २०७८ सालको जनसंख्या २ करोड ९१ लाख ६५ हजार ५ सय ७८ आधार मान्दा त्यति पुगेको हो । असार मसान्तसम्म प्रतिव्यक्ति ऋण हिस्सा ७८ हजार ८ सय ४० रुपैयाँ थियो ।

यद्यपि, यो ऋण सरकारले लिएको हुँदा सर्वसाधारणको टाउकामा भने ऋणको भार पर्दैन । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालले तिर्न बाँकी २३ खर्ब ८४ अर्बमध्ये ११ खर्ब ९८ अर्ब ४ करोड २२ लाख रुपैयाँ आन्तरिक ऋण हो भने बाह्य ऋण ११ खर्ब ८६ अर्ब ४४ करोड ३८ लाख रुपैयाँ ऋण रहेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ६ महिनामा १ खर्ब ६२ अर्ब ५८ करोड ४९ लाख ऋण प्राप्त भएको छ । कर्जा प्राप्त भएको मध्ये चालू आवमा १ खर्ब २८ अर्ब ३१ करोड आन्तरिक रूपमा प्राप्त भएको हो भने बाह्य कर्जा ३४ अर्ब २७ करोड ४९ लाख प्राप्त भएको हो ।

गत असार मसान्तसम्ममा ११ खर्ब २९ अर्ब १० करोड ३८ लाख रुपैयाँ आन्तरिक ऋण रहेको थियो भने ११ खर्ब ७० अर्ब २४ करोड ८७ लाख रुपैयाँ बाह्य ऋण रहेको थियो । ६ महिनाको अवधिमा सरकारले आन्तरिक र बाह्य ऋणको सावाँबापत ७७ अर्ब ४५ करोड १४ लाख रुपैयाँ भुक्तानी गरेको छ । सरकारले सावाँ ब्याज तिरेको आधारमा ६ महिनामा सार्वजनिक ऋणको खुद वृद्धि ८५ अर्ब १३ करोड रुपैयाँले बढेको देखिएको छ ।

सरकारले ६ महिनाको अन्तरालमा ५९ अर्ब ३७ करोड १६ लाख आन्तरिक ऋण तिरेको छ भने १८ अर्ब ७ करोड ९८ लाख रुपैयाँ बाह्य ऋण तिरेको छ । बाह्य ऋणको सावाँ भुक्तानीमा १८ अर्ब ७ करोड र ब्याज भुक्तानीमा ४ अर्ब ९३ करोड खर्च भएको बताइएको छ ।

पुस मसान्तसम्ममा भुक्तान गरेर तिर्न बाँकी रहेको ऋणमध्ये आन्तरिकतर्फको हिस्सा ५० दशमलव ५ प्रतिशत रहेको छ भने बाह्य ऋणको हिस्सा ४९ दशमलव ५ प्रतिशतको रहेको छ ।

पूर्वाधार विकासलगायत अन्य बजेट घाटा पूर्तिका लागि सरकारले आन्तरिक र बाह्य ऋण उठाउने गरेको छ । ऋण प्राप्त गर्न पनि सरकार असफल हुँदै गएको देखिएको छ । बाह्य ऋण लिन असफल भएसँगै सरकार आन्तरिक ऋण उठाउन उद्यत भएको देखिएको छ ।

गत साउनमा १ अर्ब ९० करोड बाह्य ऋण प्राप्त गरेकामा भदौमा ४ अर्ब ८८ करोड र कात्तिकमा ५ अर्ब ११ करोड बाह्य ऋण सरकारले लिएको थियो । मंसिरमा आएर ५ अर्ब २८ करोड बाह्य ऋण प्राप्त गरेकामा पुसमा भने १ अर्ब ४६ करोड २६ लाख मात्र बाह्य ऋण प्राप्त गरेको छ । आन्तरिकतर्फ भने साउनमा २५ अर्ब ८४ करोड, भदौमा १५ अर्ब ७६ करोड र असोजमा १४ अर्ब ९४ करोड आन्तरिक ऋण उठाइएको थियो । कात्तिकमा ८ अर्ब ८३ करोड अनि मंसिरमा ५ अर्ब १७ करोड आन्तरिक ऋण उठाएको सरकारले पुसमा ह्वात्तै २३ अर्ब आन्तरिक ऋण उठाएको थियो ।

गत आव २०७९/८० मा नेपालको कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ रहेकामा चालू आवको ६ महिनामा मात्र ८५ अर्ब १३ करोड रुपैयाँबराबर सार्वजनिक ऋण थपिएको छ ।

नेपालको कुल ऋण सरकारको चालू आवको बजेटभन्दा ६ खर्ब ३३ अर्ब १७ करोड ३९ लाख रुपैयाँले बढी हो । यो नेपालको कुल अर्थतन्त्रको ५० प्रतिशत हुन आउँछ । नेपालसँग कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५० प्रतिशतसम्मको सार्वजनिक ऋणको भार थेग्नसक्ने क्षमता छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो ५ वर्षमा मात्रै सरकारी ऋण दोब्बर भएको छ । आव २०७५(७६ मा सरकारी ऋण १० खर्ब ४८ अर्ब १५ करोड रुपैयाँबराबर थियो । त्यस्तै, आव २०७६/७७ मा १४ खर्ब ३३ अर्ब, आव २०७७/७८ मा १७ खर्ब ३७ अर्ब र आव २०७८/७९ मा २० खर्ब १३ अर्ब रुपैयाँ पुगेको थियो । राजधानी दैनिक

अघिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);