काठमाडौं,१ माघ । जनकपुरमा गाडी चोरी निकासीमा संलग्न गिरोहलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले भन्सार छलेर ल्याएको चार वटा गाडीसहित चोरी निकासीमा संलग्न जनकपुर जलेश्वरका मोख्तार अन्सारी र महोत्तरी लोहरपट्टीका जमजम भनिने अन्सारुल कवारीलाई आईतवार पक्राउ गरी सार्वजनिक गरेको हो ।
चोरी निकासी कार्यमा संलग्न अर्का १ जनाको भने खोजी भईरहेको पनि प्रहरी वरिष्ठ उपरीक्षक मित्रवन्धु शर्माले बताउनु भयो । मोख्तारले भारतबाट गाडी चोरी निकासी गर्ने गरेको र अर्का जमजम भनिने कवारीले नेपालमा सो गाडी बेच्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको पनि प्रहरीले जनाएको छ ।
एसएसपी शर्माले भन्नुभयो, ‘चार वटा गाडीहरु सबैको नक्कली नम्बर राखिएको छ । यी नम्बरमा यी गाडीहरु छैनन् । यी गाडीहरु भन्सार चोरी निकासी गरी नेपाल ल्याइएको हो । नेपालमा यी गाडीहरु विभिन्न व्यक्तिहरुले प्रयोग गरेको हामीले सूचना पायौं । त्यही अनुसार यी गाडीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाही अगाडि बढाएका छौं । यसमा अहिले हाम्रो प्रारम्भिक अनुसन्धानले देखाए अनुसार अन्दाजी ५० वर्षको मोख्तार अन्सारी महोत्तरी जलेश्वर बस्ने यिनले चाहीँ भारतबाट गाडीहरु नेपाल ल्याउने । नेपालमा बसेर विभिन्न ग्राहकहरु खोजी गर्ने बेच्ने जमजम भन्ने वर्ष ४० को अन्सारु कवाली यी दुई जना । र अर्को नाम नखुलेको अर्को व्यक्ति पनि छ । जसलाई हामीले पक्राउ गरेका छैनौं । खोजतलासमा छ ।’
पक्राउ परेका अभियुक्तलाई आवश्यक कानूनी कारबाही शुरु गरिएको पनि प्रहरीले जनाएको छ ।