काठमाडौं,२७ पुस । सरकारले कम तलब दिएको भन्दै पपुवा न्यु गिनीका सरकारी कर्मचारी, सेना र प्रहरीको एक समूहले गरेको प्रदर्शन हिंसात्मक बन्दा १५ जनाको मृत्यु भएको छ भने करिब २५ जना गम्भीर घाइते भएका छन् ।
दंगा भड्किएपछि पपुवा न्युगिनिका प्रधानमन्त्री जेम्स मारापेले १४ दिनका लागि आपतकाल घोषणा गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । प्रहरी र अन्य सरकारी कर्मचारीहरुको पछिल्लो तलब ५० प्रतिशतसम्म घटेर आएपछि विरोध प्रदर्शन सुरु भएको हो । तर प्रधानमन्त्री मारापेले भने कम्प्युटरमा भएको गलत टाइपिङका कारण एक सय डलरसम्म कम तलब गएको स्वीकार गर्दै अर्को महिनाको भुक्तानीमा त्यो त्रुटीलाई सच्याइने स्पष्ट गरिसक्नु भएको छ । साथै कानुन तोड्दा परिणाम प्राप्त नहुने भन्दै उहाँले अराजकता सह्य नहुने चेतावनी पनि दिनु भएको छ ।
राजधानी पोर्ट मोरेस्बीमा सैनिक, प्रहरी अधिकारी र जेलगार्डको एक समूहले गरेको प्रदर्शन निकै उग्ररुप भएपछि स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली समेत चलाएको बताइएको छ । राजधानीबाट करिब ३०० किलोमिटर उत्तरतर्फ टाढा रहेको लाए सहरमा दंगा भड्किएको र कम्तीमा १५ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
पोर्ट मोरेस्बीको सबैभन्दा ठूलो अस्पतालले गोली लागेर घाइते भएका २५ जनाको उपचार गरिरहेको जनाएको छ । राजधानीका पसलहरूमा लुटपाट भएको, भवन र कारहरूमा आगजनी भएको तस्वीरहरु सार्वजनिक भएका छन् ।




