पुष्कर भट्ट,
कञ्चनपुर, ९ माघ । भिमदत्त नगरपालिका १३ बडैपुर का १४ बर्षिय पदम गिरीले बगरमा बालुवा चालेर चार जनाको परिवारको गुजरा चलाई रहेका छन् ।
सानै उमेरमा बुबा गुमाएपछि घरपरिवार हेर्ने जिम्मेवारी उनको थाप्लोमा प¥यो । रोजगारका लागि आमा भारत गएपनि परिवार चलाउन मुस्किल भएपछि पढाइ छोडेर पदम बालुवा चाल्न महाकाली नदी धाउने गरेका छन् । उनले बालुवा चालेर नै आफ्नो भाइ बैनीलाई पढाउने गरेका छन् ।
पदम जस्तै धेरै विपन्न परिवारले बिहान बेलुकाको छाक टार्न बालुवा चालेर नै चामल पिठो किन्ने गरेका छन् । त्यस्तै बेल्डाडी गाँउपालिकाका ईन्द्रजित राना पनि आर्थिक अभाव कै कारण पढाई छोडेर घरखर्च चलाउन बालुवा चाल्ने गरेका छन् ।युवा मात्र हैन वृद्धवृद्धा पनि बालुवा चाल्न बगर धाउने गरेका छन् ।
बगरमा मजदूरीका लागि भिमदत्त नगरपालीका, बेलौरी, पुनर्वास, लालझाडी, बेदकोट लगायतका क्षेत्रबाट बालुवा चाल्न महाकाली नदि पुग्ने गरेका छन् । बगरमै खरिदका लागि ट्रक ट्र्याक्टर पुगेपनि व्यवसायीले उचित मूल्य नदिएको उनीहरुको गुनासो छ ।




