काठमाडौं,९ पुस । नवलपुरमा सासु बुहारी मृत अवस्थामा फेला परेका छन् । जंगलमा घाँस काट्न गएका सासु बुहारी आइतबार मृत फेला परेका हुन् ।
नवलपुर विनयी त्रिवेणी गाउँपालिका–१ विनय सामुदायिक वनमा घाँस काट्न गएका सासु ६० वर्षीया मनादेवी पौडेल र बुहारी २८ वर्षीया विष्णु पौडेल आइतबार राति मृत फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरको अनुसार दुई जना सासु बुहारी आइतबार बिहान ११ बजे घर नजिकैको जंगलमा घाँस काट्न गएका थिए ।
साँझसम्म घर नफर्किएपछि खोज्न जाँदा आइतबार राति दुवै जनाको शव खहरे ढिक जंगलमा मृत फेला परेको हो ।
दुवैजनाको बायाँ कम्परा र कम्परा पछाडी चोट देखिएको छ । कम्परामा चोट लागेको देख्दा जंगली जनावरले आक्रमण गरेको अनुमान गरिएको छ ।