काठमाडौं, ८ पुस । कानून व्यवसायीहरुले न्यायालयप्रतिको जनआस्था बढाउनका लागि छिटो, छरितो न्याय सम्पादनको काम हुनुपर्ने बताएका छन् । न्यायालयप्रति जनविश्वास बढाउनका लागि राजनीतिक हस्तक्षेपको अन्त्य हुनुपर्नेमा उनीहरुले जोड दिएका हुन् । शनिवार नेपाल बार एशोसिएशनको ६८ औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा भेला भएका कानून व्यवसायीहरुले न्याय पाउने कुरा खर्चिलो हुन नहुने आवश्यक्ता पनि औंल्याएका छन् । वरिष्ठ अधिवक्ता उषा मल्ल (पाठक) ले न्यायालयमा जनआस्था अभिवृद्धिका लागि राजनीतिक हस्तक्षेपको अन्त्य हुनुपर्ने बताउनु भयो । उहाँले न्यायालयको सुधारका लागि यस भित्र देखिएका विकृति र विसंगतिको अन्त्यका लागि नेपाल बार एशोसिएशनले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।
वरिष्ठ अधिवक्ता पाठकले भन्नुभयो, ‘न्यायालय भित्र राजनीतिक दबाब पनि छ । अब यहाँ न्यायाधीशहरु नियुक्तिको विषयलाई लिएर पनि धेरै कुराहरु बाहिर आईराखेको तपाईहरुलाई थाहा नै छ । जनआस्था घटनुका चाहीँ जतिपनि यहाँ मुद्दामामिलाहरु आउँछन् । त्यसलाई राजनीतिकरण गरिएको छ । त्यसले गर्दा पनि जनताले छिटो न्याय नपाउको अवस्थामा, न्याय खर्चिलो भइरहेको अवस्था भईरहेकाले जनतालाई न्यायालयप्रति अविश्वास हुनु स्वभाविकै हो । यसलाई विश्वासिलो बनाउनका लागि कानून व्यवसायीहरु आफैं पनि विश्वासिलो हुनु पर्दछ । यस भित्रको विकृति, विसंगतिको अन्त्यका लागि नेपाल बारेले पनि त्यत्तिकै भुमिका निर्वाह गर्नु पर्दछ । नेपाल बारसहित न्यायापालिका भित्र रहेका सबै अवयवहरुको भुमिकाले मात्रै न्यायालयप्रति जन आस्था बढाउन सकिन्छ । यसका लागि सबैभन्दा ठूलो कुरा इमान्दारिता नै हो । अबका दिनहरुमा न्यायपालिका भित्र जनआस्था अभिवृद्धि गर्ने कुरामा, छिटोछरितो न्याय पाउने कुरामा त्यो चाहीँ प्राप्त होस् भन्ने मेरो कामना छ ।’
नेपाल बार एशोशिएशनकी महासचिव अञ्जिता खनालले न्याय सम्पादनको कामलाई छिटो, छरितो बनाएर न्यायालयप्रति जनविश्वास बढाउने सकिने बताउनु भयो । उहाँले नेपाल बारले पनि न्यायालयप्रति जनविश्वास आर्जन गराउनका लागि परेको दाबी समेत गर्नुभयो ।
महासचिव खनालले भन्नुभयो, ‘अदालतप्रतिको जनआस्था बढाउने, न्याय सम्पादनमा वकिलको भुमिका बढाउने कुरामा नेपाल बार लागि राखेको छ । यो आस्था अब बिस्तारै बढ्छ भन्ने मलाई लाग्छ । जनविश्वासलाई कायम राख्नका लागि न्याय सम्पादनको कामलाई छिटो छरितो गर्ने हो । न्याय सम्पादनका लागि उचित न्याय प्रणालीको व्यवस्थापन गर्ने हो । त्यो कुरामा हाम्रो मात्रै होइन, मिडिया, वकील सबैको रोल समान रुपमा हुन्छ भन्ने लाग्छ मलाई । हामीले स्वतन्त्र र निष्पक्ष न्यायालय होस् भन्ने नेपाल बारको सधैँ चाहना हुन्छ । अहिले पनि त्यही हो ।’
अधिवक्ता जितेन्द्रबहादुर मराईले न्यायालयको जनआस्था जोगाई राख्नका लागि नेपाल बार एशोसिएशनको भुमिका महत्वपूर्ण हुने बताउनु भयो । उहाँले न्यायमा पहुँच नभएका नागरिकको न्याय निरुपण गर्ने कुरामा अदालत, कानून व्यवसायी सबैले मिलेर काम गर्नुपर्ने बताउनु भयो ।
अधिवक्ता मराईले भन्नुभयो, ‘अदालतले पनि कानुनी राज्यको अवधारणाअनुसार चल्नुपर्छ । मुलुकमा कानूनको शासन प्रत्याभुति गराउनका लागि सक्रिय हुनुपर्ने अदालत नै हो । अब केही विषयहरुमा अदालत विवादित भएपनि समग्रतामा अदालतले आफू कानूनको शासन प्रत्याभुत गराउने विषयमा अगाडि बढ्नुपर्ने आवश्यक्ता नै हुन्छ । र, पछिल्लो चरणमा केही घटनाहरुमा विवादित भएपनि फेरी अदालत र नेपाल बार भनेको चाहीँ एउटा सिक्काको दुई वटा पाटाजस्ता छन् । अदालनको परिपूरक नेपाल बार पनि हो । अदालतको आस्था जोगाइराख्नका लागि नेपाल बारको महत्वपूर्ण भुमिका रहन्छ । खासगरी भुइँ मान्छेलाई न्याय निरुपण गर्ने, गराउने प्रयत्नमा नेपाल बारको रहन्छ । र अदालतको पनि त्यो किसिमले अगाडि बढ्नुपर्ने हुन्छ ।’
अधिवक्ता मराईले न्यायालय कानूनी राज्यको अवधारणाअनुसार चल्नुपर्ने पनि बताउनु भयो ।