काठमाडौं,६ पुस । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टीको रुपमा स्थापित गर्न आग्रह गर्नुभएको छ ।
बिहीवार पार्टीको मधेस प्रदेश अधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै देउवाले काँग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त गर्नेतर्फ अग्रसर हुन आग्रह गर्नु भएको हो । उहाँले पार्टीमा अहिले अन्तरघातको रोग लागेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति तथा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय ऐनहरु हिउँदे अधिवेशनबाट पारित गर्ने प्रतिवद्धता जनाउनुभयो । .संघीयतासँग जोडिएका कानूनहरु बनाउन ढिलो भएको र सरकार चुकेको स्वीकार्दै उहाँले संघीय निजामति सेवा ऐन, संघीय प्रहरी ऐन, प्रहरी समायोजनलगायत अन्य संघीय ऐनहरु हिउँदे अधिवेशनमै पारित गर्ने प्रतिवद्धता जनाउनु भएको हो ।
कांग्रेसमा नेताहरूबीच वरीयताको विवाद चर्किएको मधेस प्रदेश अधिवेशनमा झनै छताछूल्ल भएको छ । बिहीबार मधेश प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवापछि दोस्रो वरीयता नपाउने भएपछि नेता शेखर कोइराला अनुपस्थित रहनु भयो । पूर्वउपसभापति विमलेन्द्र निधि पनि सभापतिपछिको वरीयता नपाएपछि आसनग्रहणका लागि भएको बोलाहट अस्वीकारेर दर्शक दीर्घामै बसेर सम्मेलनमा सहभागी हुनु भयो ।