काठमाडौं, ३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडक समयमै सक्न निर्देशन दिनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको एक्सन रूमबाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भर्चुअल निरीक्षण गरेपछि प्रचण्डले समयमै काम सक्न निर्देशन दिनुभएको हो ।
करिब ६ महिनापछि सोमबार सिंहदरबारको ’एक्सन रूम’ पुगेर प्रधानमन्त्री प्रचण्डले निर्माणाधीन २ सडकखण्डको भर्चुअल निरीक्षण गर्नुभएको हो । निरीक्षणपछि प्रधानमन्त्री प्रचण्डले हाम्रा परियोजनाहरू भनेजस्तो जस्तो गरी अगाडि बढेनन् र जनताले महसुस गर्ने गरी कामको प्रगति नभएको टिप्प्णी गर्नु भयो । यसबाट सन्तुष्ट हुन सक्ने अवस्था नभएको भन्दै प्रचण्डले भूमिका गुणात्मक रूपले बढाउनुपर्ने उल्लेख गर्नुभयो ।
गिट्टी, बालुवा ढुंगा, विद्युतका सानातिना समस्याहरू समाधान गर्ने जिम्मेवारी सरकारको भन्दै उहाँले फिल्डका कार्यालयले समयमै सम्बन्धित ठाउँमा नियमित प्रतिवेदन पठाउनु पर्ने बताउनु भयो ।
समयमै कुरा आए समाधान गर्न सजिलो हुने र दिनहुँ जनताले समस्या भोग्नुपर्ने समस्या अन्त्य गर्नु पर्नेमा प्रचण्डले जोड दिनु भयो । अब परियोजनाको माइलस्टोन सूचकका आधारमा प्रगति हुनुपर्ने पनि प्रधानमन्त्रीले स्पष्ट गर्नुभयो । तोकिएको समयमा नै काम सकिनुपर्छ, यी कारणले काम भएन भन्न नपाइने प्रधानमन्त्रीले भन्नु भयो ।




