काठमाडौं, ८ माघ । रानीपोखरीको पुनःनिर्माणका लागि गठित विज्ञ समूहले काठमाडौं महानगरपालिलाई प्रतिवेदन बुझाएको छ ।
आईतबार पत्रकार सम्मेलन गरी पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई बुझाएको प्रतिवेदनमा यसअघि रानीपोखरी मल्लकालीन शैलीमा निर्माण गरिएकाले सोहीअनुरुप नै निर्माण गर्न सुझाव दिएको छ । यसअघि पुनःनिर्माणका सम्बन्धमा प्रयोग गरिएको कंक्रिट नष्ट गरी पुरानै शैलीमा निर्माण गर्नुपर्ने पुरातत्व विभागका पूर्वमहानिर्देशक कार्कीले बताए ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग र महानगरपालिकाका प्रतिनिधि बसेर प्रतिवेदनको अध्ययनपछि मात्र कसरी र कहिलेदेखि निर्माणको काम सम्पन्न गर्ने जानकारी दिए ।रानीपोखरी निर्माणका क्रममा विवाद उत्पन्न भएपछि समाधान गर्न गत पुस १३ गते कार्कीको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह गठन गरिएको थियो ।
पहिलेको निर्णयअनुसार गत पुस २७ गते नै प्रतिवेदन बुझाउनुपर्ने भए पनि १० दिन थप समय माग गरी समूहले प्रतिवेदन बुझाएको हो ।देशविदेशका धेरै पवित्र नदीका जल प्रयोग गरिएको ‘विष्णुतीर्थ’ को नामले परिचित सो पोखरीको मन्दिर पुनःनिर्माणका क्रममा कंक्रिट प्रयोग भएपछि विवाद उत्पन्न भएको होे ।




